भोलि देखि लकडाउनमा कडाइ

रासस,बैशाख १ । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशन पछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । मंगलबार (भोलि) देखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटर साइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ ।किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ ।

वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत को;रोना भाइरसको सङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लक डाउन प्रभावकारी नहुने देखिएकाले कडा बनाउन मुख्य मन्त्री पौडेलले निर्देशन दिए । पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिए ।

मुख्य मन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लक डाउनलाई कडा गर्ने निर्णय गरेको हो ।प्रदेशका अन्य जिल्लामा समेत लकडाउन कडा बनाइने र स’ङ्क्रमण फैलन नदिने वातावरण निर्माण गरिने प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए ।“हामी लकडाउन कार्यान्वयनमा प्रतिबद्ध छौं र वर्तमान संवेदनशीलतालाई ध्यान दिएर लकडाउनलाई थप साँघुरो बनाउँदै जान्छौं ”, उनले भने ।

यसै बीच नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर हेटौँडाले कोरोना भाइरसको अवस्था नेपालमा आइपर्न सक्ने जोखिम र सम्भावित जोखिमको सामना गर्न गर्नसकिने कामहरुका बारेमा मुख्यमन्त्री पौडेललाई सोमबार ब्रिफिङ गरेको छ। पृतनापति ताराध्वज पाण्डे, महा सेनानी प्रकाशराज थापा लगायतको सैनिक टोलीले भारतमा गएको एक हप्तामा को;रोना सङ्क्रमणको दर दोब्बर बढेको र कोरोनाका कारण मारिनेको सङ्ख्या समेत बढिरहेको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावका बारेमा विश्लेषण प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्