सबै सडक चिटिक्क बन्दा चाबहिल-गौशाला सडक किन बनेन ?

काठमाडौं : काठमाडौंका धेरैजसो मुख्य सडक रङरोगनका कारण आकर्षक देखिएका छन्। सडक डिभिजन कार्यालय काठमाडौंले लक डाउनको समयमा ओभरले सकिएका सडकमा ‘रोड मार्किङ’ गरेको हो। काठमाडौं डिभिजन अन्तर्गत पर्ने ४१ किमिमध्ये करिब ३१ किमि सडकमा मार्किङ सकिएको छ।

‘लक डाउन अघि कालोपत्रे भइसकेका लगभग सबै सडकमा मार्किङको काम भएको छ’ डिभिजन प्रमुख कुवेर नेपालीले भने, ‘अब पुरानो कालोपत्रे जहाँ रोडमार्किङ मेटिएको छ, त्यहाँ गर्ने छलफल भइरहेको छ।’ सामाजिक सञ्जालमा काठमाडौंका धेरै सडक कालोपत्रे र रङरोगन हुँदा चाबहिल–गौशाला सडक किन नबनेको भन्दै धेरैले प्रश्न गरिरहेका छन्।

‘सबैतिर काम हुँदा धेरैले उक्त सडक खण्डको विषयमा प्रश्न गर्नुभएको छ’, नेपालीले भने, ‘लकडाउनको समयमा पनि त्यहाँ काम भइरहेको छ। १ हप्तामा पिच गर्न सक्ने अवस्थामा पुग्छौं।’ उक्त सडक खण्ड केही वर्षअघि मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनको कारण बिग्रिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पन्छिने गरेको थियो। तर मेलम्चीको पाइपलाइन बिछ्याएर एकपटक कालोपत्रे गरे पनि उक्त सडक खण्ड धूलो र हिलोमुक्त हुनसकेको छैन।

प्रतिक्रिया दिनुहोस्