काठमाडौं । रामविलास महतोले जीवनमै पहिलो पटक राजधानी काठमाडौं टेक्दा आँसुका बलिन्द्र धारा झार्नु पर्यो। उनी घुम्न या कुनै रहरले काठमाडौं आएका होइनन्, घरखेत नै लिलाम हुने अवस्था आएपछि आफ्नो पसिनाको मुल्यको अप हरण गर्नेलाई खोज्न आएका हुन् । महतो उखु खेती गर्ने किसान हुन् । बारीका उखु चिनी उद्योग हुँदै कहाँ कहाँ पुगीसक्यो, उनको पोल्टामा ५ रुपियाँ पनि परेको छैन ।
ऋण खोजेर न्यायका लागि काठमाडौं आएका उनी माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरिक भए, आफ्नो पसिनाको मोल माग्दै । सर्लाहीका महतोले आँसु झार्दै भनेका छन्,‘मालिक भाग्यो, अब मर्ने कि के गर्ने ?’ सरकारले आफ्ना पीडा सुनेर भगौडा चिनी मिल सञ्चालकसँग भुक्तानी गराइदिए हुन्थ्यो भन्ने उनको अपेक्षाले काठमाडौं सम्म डोहोर्यायो ।
चिनी मिलमा धर्ना, अनशन बस्दा कतैबाट पनि सम्बोधन हुन नसकेपछि संघीय सरकार मार्फत आफ्ना अप्ठेरो अवस्थालाई सुल्झाउने काम हुन्छ कि भनेर उनीलगायतका ७ औं हजार किसान काठमाडौंमा छन् । महतोको झैं उनीहरूका पनि आँखा टिलपिल छन् । २७ लाखसम्मको भुक्तानी लिन बाँकी छ, एउटा किसानले । अन्नपूर्ण मिल, महालक्ष्मी मिलका सञ्चालकहरू ‘किसानमारा’ नियत राख्ने व्यक्ति हुन् ।
अति भएपछि सरकारको ध्यानाकर्षण गराउनका निम्ति पीडित काठमाडौं आएका हुन् । राजनीतिक दलमा पहुँच र पदमा रहेका सञ्चालकले प्रभावका आधारमा नै किसानलाई पीडा दिँदै आएको उनीहरूले सुनाएका छन। यहाँसम्मकी संसदका समितिमा पनि आफ्ना पीडा सुनाएर न्यायको खोजी गरेका छन् । तर कृषिमन्त्री घनश्याम भुसालले उद्योग मन्त्रालय मार्फत पाएको जानकारी अनुसार मिल सञ्चालक सम्पर्कमा छैनन् भन्ने जवाफ दिए ।
खोजी गर्ने आश्वासन पनि दिएका छन् । अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले सर्लाहीका हज्जारौं किसानको रकम दिएका छैनन् । किसानलाई मर्कामा राख्ने अग्रवाल अहिले सम्पर्कमा पनि छैनन। उखु किसानहरूले सरकार र उद्योगबाट तीन अर्ब भन्दा बढी भुक्तानी पाउन बाँकी छ । त्यसका लागि पनि घचघच्याउन आएको किसानहरूले सुनाएका छन् ।
त्यसो त राष्ट्रिय सभामा सत्ता पक्षका सांसदले किसानका मर्का बोले, प्रतिपक्षका तर्फबाट राजपा र संघीय समाज वादीका नेताले कुरा उठाए । मुख्य भनिएको प्रतिपक्षी कांग्रेसका कोही सांसदले यस विषयमा कुरा उठाएनन् । न नेताले उठाएका छन् । किसान ठगी गर्ने उद्योग महालक्ष्मी सुगर्सका सञ्चालक वीरेन्द्र कनोडिया नेपाली कांग्रेसमा प्रभाव जमाउने ठाउँमा रहेका छन् ।
प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता समेत रहेका कनोडियाले मात्र २१ करोड भन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ । अग्रवालबाहेक कनोडियासम्म सरकारको तत्काल पहुँच हुँदा उनलाई पक्राउ गरी भुक्तानी गराउन सक्ने आधार पनि रहेको कतिपयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्