सीडीओलाई मुख्यमन्त्रीको निर्देशन : सवारी पासका लागि राष्ट्रपतिको फोन आए मलाई दिनू

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनका बेला सवारी पासका लागि राष्ट्रपति लगायत उच्च पदस्थबाट सिफारिस आए पनि कसैलाई सहुलियत नदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएका छन्। उनले बिहीबार कास्कीसहित जिल्लाका प्रजिअलाई उक्त निर्देशन दिएका हुन्।

पोखराबाट बाहिर जिल्ला जान जिल्ला प्रशासन कार्यालयबाट पास लिन घुइँचो लाग्न थालेको जानकारी मुख्यमन्त्रीलाई कास्कीका प्रजिअ ज्ञानप्रसाद ढकालले गराएका थिए। तर मुख्यमन्त्री गुरुङले भने आफ्ना मन्त्री, सांसद, गाउँपालिका प्रमुख/उपप्रमुख र नेताहरुलाई पासको सिफारिसका लागि दबाबद नदिन आग्रह गरेका छन्।

दिनभरका गतिविधिबारे जानकारी गराउन फेसबुक लाइभमा आएका मुख्यमन्त्री गुरुङले बिहीबार साँझ भने, ‘लकडाउन पालना नगरी कोरोनाविरुद्धको युद्ध जितिँदैन, कसैलाई पनि सहुलियत दिनुहुँदैन।’ मुख्यमन्त्रीले मान्छे बितेर शव बोक्नै जानुपरे वा किरिया गर्न जानुपरेमात्रै पास दिन निर्देशन दिएका थिए। ‘पास दिनू भनेर राष्ट्रपतिको फोन आयो, प्रधानमन्त्रीको फोन आयो भने मलाई दिनु भनेको छु’

उनले सीडीओलाई दिएको निर्देशनबारे अन्नपूर्णलाई सुनाए। उनले प्रत्येक दिन गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रजिअसँग कोरोना रोकथामका दैनिक गतिविधिबारे जानकारी लिने गरेका छन्। बिहीबार ४ जिल्लाका सीडीओसँग उनले कुराकानी गरेका थिए। बुधबार सबै ११ जिल्लाका सीडीओसँग भिडिओ कुराकानी गरेका थिए। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्