को’रोना प्रभावितका लागि ९९ वर्षीय टमले जुटाए सहयोग

बेलायत : को;रोना भाइरस प्रभावितको सहयोगार्थ ९९ वर्षीय बेलायती सेनाका एक योद्धाले एकसय ५० लाख डलरभन्दा बढी सहयोग रकम जुटाएका छन्। उनले उक्त रकम देशको राष्ट्रिय स्वास्थ्य सेवा च्यारिटिअन्र्तगत संचालित अस्पताल, त्यहाँ कार्यरत कर्मचारी, स्वयंसेवक र कोरोना प्रभावितलाई सहयोग गर्न उठाएका हुन्।

एउटा हिँड्ने फ्रेमको सहायताले उनले आफ्नो बगैंचामा १०० फन्को लगाउने लक्ष्यपुरा गरेर उक्त रकम जुटाएका हुन्। उनले आफ्नो अन्तिम फन्को पुरा गरेपछि योशायर रेजिमेन्ट, प्रथम बटालिनका सेनाले उनलाई गार्ड अफ अनरले सम्मान गरेका थिए। ९९ वर्षको उमेरमा सहयोगका लागि यसरी खटिने व्यक्तिको नाम टम मुर हो। उनी यही अप्रिल ३० तारिखका दिन १०० वर्ष पुग्नेछन्।

उनले उक्त चुनौतीलाई गत बिहीबारदेखि शुरु गरेर एक साताको अवधिमा अप्रिल १६ तारिखका दिन सम्पन्न गरेका हुन्। पहिले उनले आफ्नो सयौं जन्मदिनसम्म एक हजार दुई सय ५७ डलर उठाउने लक्ष्य लिएका थिए। यसका लागि उनले उत्तरी इंग्लयाण्ड स्थित योशायरमा रहेको आफ्नो घरको बगैंचामा प्रत्येक दिन १० फन्को लगाउने गरेका थिए।

तर २४ घण्टाभित्र उनी आफ्नो लक्ष्यभन्दा बढी फन्को लगाउन सफल भएपछि उनलाई दान दिनेको ओइरो लागेको थियो। दोस्रो विश्व यु’द्धमा बेलायती सेनामा जागिरे हुनु अगाडि उनले सिभिल इन्जिनियरको रुपमा भारत, इन्डोनेसिया र बेलायतमा काम गरिसकेका थिए। त्सपछि उनी एक कन्क्रिट उत्पादन गर्ने कम्पनीमा प्रवन्ध निर्देशक समेत भए।

उनकी छोरी हाना इनग्राम मुरका अनुसार टमको कम्मर मुनिको भागको शल्य क्रिया गरेर अर्कै राखिएकाले त्यसका लागि पनि उनले नियमित व्यायम गर्ने गर्थे। यस्तो अवस्थामा पनि उनले को;रोना प्रभावितको सहयोगका लागि आफ्नो बगैंचामा सय फन्को लगाउने चुनौतीलाई सजिलै स्वीकारे। को;रोना प्रभावितका लागि सहयोग जुटाउने जनचेतना अभियान अन्र्तगत उनका १६ वर्षीय नातिले हजुरबुबाको लागि एउटा ट्वीटर एकाउन्ट खोलिदिएका थिए।

८ अप्रिलमा खोलिएको उक्त अकाउन्टको ४८ हजार फलोअर्स भइसकेका छन्। त्यसपछि उनलाई बेलायती जनताले यति धेरै रकम दान दिन थालेका हुन्। टम सन् २००६ मा पत्नीको मृत्युपछि आफ्नी छोरी, ज्वाईं र दुई जना नातिनातिनीसँग बस्दै आएका छन्। तर यो उमेरमा पनि उनी आफ्नै घरमा बस्न र आफैले पकाएर खान रुचाउने उनका परिवारले बताएका छन् । भोलि आउने दिन सँधै राम्रो हुन्छ भन्नेमा विश्वास गर्ने टम आज पनि उत्तिकै मिहिनती र सक्रिय रहेका उनकी छोरीले बताइन्। (एजेन्सीको सहयो गमा)

प्रतिक्रिया दिनुहोस्