राजमार्गमा पैदल यात्रुको विजोग: भन्छन्, ‘जीन्दगीमा नपाएको दुःख यसपालि पाइयो’

नेपालगन्ज : कञ्चनपुर, लालझाडी–७ का प्रतापसिंह राना थारु ललितपुरबाट पैदल हिड्न सुरु गरेको एक हप्तापछि बिहीबार दिउँसो बल्लतल्ल बाँके आइपुगे । यहाँ आउँदा सम्म उनका खुट्टा सुन्निएर चल्नै नसक्ने अवस्थामा छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारीसम्म पैदल हिडेर मुस्किलले आइपुगेका उनको अवस्था निकै दयनीय देखिन्थ्यो।

लक डाउनका कारण आफुले पाएको दुःख सुनाउँदै उनले नागरिकसँग भने, ‘जीन्दगीमा नपाएको दुःख यसपाली पाइयो, यो देशको नागरिक हुँ भन्ने अनुभूति नै भएन ।’ प्रतापसिंह ललितपुरको एक चिनियाँ कम्पनीमा काम गर्र्थे। लक डाउनका कारण कम्पनीको काम अनिश्चितकालका लागि बन्द भएपछि घर फर्किनुपर्ने बाध्यता भयो, उनलाई। घर फर्किदा उनले दिनरात नभनेरै प्रायः पैदल यात्रा गरे। केही ठाउँमा भने छोटो दुरीका लागि गाडीमा चढ्न पाएका थिए।

सरकारले लक डाउनका नाममा आफ्ना जनतालाई दुःख दिएको उनको गुनासो छ । ‘यो लक डाउनमा नेता र मन्त्रीका मान्छेलाई समस्या नै छैन, तर हामी जस्ता गरिब, दुखी जनतालाई सरकारले भोकै मार्न खोज्दैछ, यो गर्मी मौसममा भोकै प्यासै पैदल हिड्दा जनतालाई कति सास्ती छ, भन्ने कल्पना नै गरेको छैन यो सरकारले,’ उनले भने। नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्