सीमामा चौबिसै घण्टा पहरा दिदै सशस्त्र प्रहरी !

प्रकाश चन्द्र भट्ट, दार्चुला । भारतमा रहेका नेपालीहरु दिनप्रतिदिन महाकाली तरेर आउन थालेपछि सशस्त्र प्रहरीले सीमा नाकामा पहरा दिन थालेका छन् । सुदूरपश्चिममा बढ्दो संक्रमणसंगै जोखीम मोलेर नेपाल भित्रिरहेकालाई मध्यनजर गर्दै भारतसँग जोडिएका सिमाहरुमा चौबिसै घण्टा पहरा दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डिएसपी डम्बर बहादुर विष्टले जानकारी दिए ।

दार्चुलामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशका नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । विश्वव्यापी रुपमा फैलिएको को;रोना भाइरस रोकथाम तथा नियन्त्रण का लागि बैशाखको चर्को घामको सामना गर्दै सुरक्षाकर्मीहरु २४ घन्टा खटिएको पाइएको छ ।

शुक्रवार डिएसपी डम्बर बहादुर विष्टले भारतसँगको सिमा लाली क्षेत्रमा निरीक्षण गरेका छन् । सिमा क्षेत्रमा प्रहरी खटिदा मानिसहरुको चहलपहल न्युन हुनुका साथै लक डाउनको पालना भएको उहाले बताउनु भयो ।अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाले लेकमको लाली देखि व्याँसको डोकटसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको छ ।

महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थिती जनाएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका डिएसपी डम्बर बहादुर विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली मालिकार्जुनको बाँकु, उकु, डिन्सी, महाकालीको काँकडा, व्याँसको धौलाकोट स्याँकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको छ ।

महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश गर्ने संख्यालाई रोक्नका लागि सशस्त्र प्रहरी ठाउँ ठाउँमा राखिएको डिएसपी बिष्टले बताउनु भयो । जिल्लाका विभिन्न ठाउँमा अस्थायी पोष्ट तथा गुल्म चेकपोष्ट राखेर एक सय पाँच संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको उहाले बताए । सशस्त्र प्रहरीले अहिले चौबिसै घण्टा पैदल गस्ती समेत गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्