‘कोही अलपत्र हुनु हुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’ : महेश बस्नेत

भक्तपुर : सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् । अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले को;रोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खाने र बस्ने समस्याका कारण उपत्यका छोडी हिँडेरै घर फर्कनेलाई सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पुर्‍याउन निर्देशनसमेत दिइ सकेको बताउँदै सांसद बस्नेतले उपत्यका भित्र समस्यामा परेका हरुले आफूलाई खबर गर्न आह्वान गरे । उनले भने, ‘प्रधानमन्त्रीको जनभावनाअनुसार निर्देशन आयो, अब प्रदेश र स्थानीय सरकारले मानवीय पक्ष हेरेर अफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लागौँ, काठमाडौंं उपत्यका भित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ ।’

यहाँका स्थानीय तहसँगको समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्यवस्थापन हुँदै आएको छ । उपत्यका छाडेर विभिन्न जिल्लाका नागरिक घर फर्कने क्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृ त्वमा आजदेखि पैदल यात्रुलाई खाना खुवाउन सुरु गरेको छ ।

काठमाडौं पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्गखण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले खाना खुवाउने व्यवस्था गरेको उनले जानकारी दिए । वडाध्यक्ष थापाले भने, ‘हिँडेर आएका पैदल यात्रुलाई प्रहरी वृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौं, अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।’ रासस

प्रतिक्रिया दिनुहोस्