आफ्ना दुई नागरिक लिन भुटानबाट नेपाल आयो चार्टर जहाज

काठमाडौं : भुटानले आफ्ना दुईजना नागरिक पठाउन चार्टर्ड जहाज पठाएको छ। भुटानले एकजना नायिका र अर्का एक जना नागरिलाई लिन शनिबार चार्टर्ड गरेर जहाज पठाएको हो । भुटानी अभिनेत्री उगेन छोदेन आफ्नो देश फर्किएकी छिन्। उनीसँगै अर्का एकजना भुटानी नागरिक तथा पाइलट सोनाम तोब्गे पनि घर फिरेका छन्।

नायिका छोदेन नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन्। उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान पारो विमानस्थल फर्केको हो।

नेपालमा को;रोना संकट बढ्दै गएपछि काठमाडौंमा अलपत्र परेको बताएर दुवैजनाले स्वदेश फर्काइदिन त्यहाँको सरकारसँग अपिल गरेका थिए। नायिका छोदेन ठमेलको तिब्बत गेस्ट हाउसमा बसि रहेकी थिइन् । उनले कोरोना संकट बढ्दै गएपछि आफ्नो देशको परराष्ट्र मन्त्रालयलाई भनेर उद्धारका लागि अपिल गरेकी थिइन्। छोदेन नेपालमा करिब ८० दिन बसेकी थिइन्।

छोदेन भुटान पुग्‍नेबित्तिकै उनलाई क्वारेन्टाइनमा राखिएको छ । लामा अनुसार अहिले उनलाई पारोको ओलाथाङ होटेलमा २१ दिन लामो क्‍वारेन्टाइन राखिएको हो । उनीहरुलाई चार्टर्ड वापदकाे ५ हजार १ सय ४६ अमेरिकी डलर भाडा लिइएको थियो । अतिरिक्त सेक्युरिटी डिपोजिटसहित दुवैले १२ हजार ४ सय ३० डलर बुझाएका हुन्।

‘पारोमा २१ दिन बिताएर उनी थिम्पु प्रस्थान गर्नेछिन्’, लामाले भने, ‘स्थिति सामान्य भएपछि २ नम्बरीको बाँकी छायाँकन पूरा गर्न उनी फेरि नेपाल आउने छिन्।’ लामाले ‘२ नम्बरी’की नायिकलाई उद्धारका लागि चार्टर्ड जहाज पठाएकोमा आभार व्यक्त गरेका छन्। ‘हाम्रो टिम उनको उद्धार कार्यमा सहयोग गर्ने भुटान सरकार, ड्रुक एयर र परिवारप्रति आभार व्यक्त गर्दछौं’, लामाले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्