६४ करोड थान नयाँ नोट चीनमा छाप्ने राष्ट्र बैंको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेनि’सँग सम्झौता गरेको हो ।

बैकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियोे । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्तारक्षर युक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न राष्ट्र बैंकले गत १४ जनवरीमा टेन्डर आह्वान गरेको थियो ।

त्यसमा आएको आवेदनका आधारमा चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई नोट छपाइको जिम्मा दिइएको हो। सो कम्पनीसँग ४३ लाख ९७ हजार ५ सय अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी, १० रुपैयाँ दरका लागि कम्पनीसँग ४१ लाख ४० हजार ४ सयमा खरिद सम्झौता भएको छ । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ ।

जसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्छन् । ‘प्रि क्वालिफिकेसनमा’ परेका कम्पनीको प्राविधिक र आर्थिक सर्वेक्षण अध्ययन गरेपछि नेपाल राष्ट्र बैंकले कम्पनी छनोट प्रक्रिया टुंग्याउँछ । केन्द्रीय बैंकले यसअघि नै दसैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको थियो । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दसैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्