हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

काठमाडौं : शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषि जन्य उत्पादनका क्रिया कलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो ।

कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति पुगेको छ । क्षतिको कृषि ज्ञानकेन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र स्थानीय तहहरूसँग समन्वय गरेर विवरण लिई जिल्ला वि’पद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाइने भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सान व्यहोर्नुपरेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताए। कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानले मलबिउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीलाई आवश्यक पर्ने मलबिउ व्यवस्थापन गर्न उनले आग्रह गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मल, बिउ, औजार र कृषिजन्य उत्पादनको ढुवानीमा रोक नलगाइएको तर भीडभाड गर्न नहुने बताए ।

कृषि ज्ञान केन्द्रको सिफारिसमा कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उनले बताए । सो अवसरमा कृषिज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, साल्ट ट्रेडिङ लिमिटेडका चितवन प्रमुख बुद्धिविनोद दाहाल र कृषि सामग्री केन्द्र चितवनका प्रमुख रवीन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मलबिउको अहिलेको अवस्थाको बारेमा जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्