‘भारतसँगका नाका तत्काल खुल्ने कुरै छैन, लकडाउन लम्बिन सक्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन् । दुई अध्यक्षले प्रदेश-प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्।

दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो। ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु नियमित प्रक्रिया भएको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले सरकारले नियमित प्रक्रियाअनुसार अध्यादेश ल्याएको हो, पद्धति बिगारेर फरक तरिकाले ल्याइएको होइन भन्नुभयो,’ सांसद निरूदेवी पालले भनिन्,‘दल विभाजनमा ४० प्रतिशत हुँदा र नहुँदा त्यत्रो फरक पर्दैन पनि भन्नुभयो।’

उनका अनुसार सुदूर पश्चिम प्रदेशका सांसदहरूको ब्रिफिङमा अर्का अध्यक्ष दाहाल अन्तिम बेलातिरमात्र आइपुगेका थिए। त्यतिञ्जेल ओलीले अध्यादेशबारे आफ्नो भनाइ राखिसकेका थिए। ‘प्रधानमन्त्रीले तपाईं ढिला आउनुभयो मैले साथीहरूलाई यस्तोयस्तो कुरा राखि सकें भन्नुभयो,’ सांसद पालले भनिन्,‘प्रचण्ड कमरेड मुसुक्क हाँस्नुभयो। केही बोल्नुभएन। प्रधानमन्त्रीको कुरामा उहाँको सहमतिजस्तै देखिन्थ्यो।’

बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङ पनि सहभागी छन्। ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले तत्काल भारतसँगको नाका खुल्ने सम्भावना नरहेको बताए । ‘भारतसँगको नाका खुल्ने कुरै छैन । देशभित्र लक डाउन लम्बिनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद पालले भनिन्। सेतोपाटिमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्