सरकारद्वारा लक डाउनको अवधि लम्ब्याउने सङ्केत

काठमाण्डौ, रासस : सरकारले छिमेकी देशमामा को’भिड–१९ को रोकथामका प्रयासको सफलता र त्यस वि’रुद्ध देशले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लक डाउन लम्ब्याउने या खोल्ने निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने सङ्केत गर्दै त्यसका लागि देशको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

सिंहदरबारमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । ‘लकडाउन खोल्ने हो भने देशको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठिक ठाउँमा छन् कि छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ कि छैन हेर्नुपर्छ’, डा खतिवडाले अगाडि भन्नुभयो, ‘नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ कि छैन, यी यावत कुरा हेरेर जोखिम मुक्त छौँ भनेपछि मात्रै खोल्ने हो ।’

उहाँले लकडाउन लम्बिदै गर्दा जीवनलाई चाहिने न्यूनतम आपूर्तिजन्य कुरालाई परिपूर्ति गर्न केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको प्रष्ट्याउनु भयो ।विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९का कारण समयमै अन्तरराष्ट्रिय आवा गमन, सीमानाका बन्द गरेर काम गरिएको उहाँले जानकारी गराउनुभयो । नेपालले एकपक्षीय ढङ्गले लकडाउनको निर्णय नगरेको उल्लेख गर्दै उहाँले लुकिछिपी आउने क्रम नरोकिँदा यति धेरै सङ्क्रमण हुने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । गएको महिना आजकै दिन सरकराले अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने गरी लकडाउनको आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्