अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौँ । नेकपाले प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ । नेकपाको निर्णयसँगै सापकोटा सभामुख बन्ने निश्चित छ । प्रतिनिधि सभामा नेकपाको बहुमत रहेकाले उनी सभामुख बन्ने निश्चित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

को हुन् सापकोटा ? २०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभाव शाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् । सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।

०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका साप कोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाज शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्ति प्रक्रियामा नआउँदा सम्म पूरै समय भूमिगत बसेका थिए। सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालि सकेका छन्। पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सरेको थियो । माघ ६ गते सोमवारका लागि संसद् अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्