असिनापानीले दुई सय बिघाको तरकारी नष्ट

परासी । केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँ पालिकामा करीब २०० बिघा क्षेत्रफलमा लगाइएको तरकारी खेती नष्ट गरेको छ । असिनापानीले घिरौँला, लौका, करेला, फर्सी, काँक्रोलगायत लहरेबालीका साथै प्याज, खुर्सानी, धनियाँ, मुला, बन्दालगायत तरकारीमा क्षति पुगेको छ ।

लाखौँ मूल्यको तरकारीखेती एकै पटक नष्ट भएपछि कृषक चिन्तामा परेका छन्। पाल्हीनन्दन–५ मा मात्रै १०० बिघा र अन्य वडामा १०० बिघा गरी २०० बिघामा लगाइएको तरकारीखेती पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जानकारी दिए । क्षतिको स्थलगत अनुगमन गरिएको बताउँदै उहाँले भन्नुभयो, “असिनापानीले गाउँपालिकाका सवै वडाका कृषक पीडित बनेका छन् ।”

फल्न लागेका र टिपेर बिक्री गर्ने तयारीमा रहेको लहरे तरकारीबाली कामै नलाग्ने गरीनष्ट भएको पाल्हीनन्दन–५ का महेन्द्र गुप्ताले बताए। “हामीले गाउँपालिकामा क्षतिपूर्तिको मागगर्दै निवेदन दिएका छौँ, पीडित कृषकका लागि सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनले भने । बन्दाबन्दीका कारण कृषि उत्पादन बजारसम्म पु¥याउन नपाएर समस्यामा परेका कृषक खेती नै नष्ट भएपछि थप चिन्तित बनेका छन् ।

असिनापानीले गर्दा आफूले ६ कठ्ठामा लगाएको तरकारी नष्ट भएको पाल्हीनन्दन–३ परसियाका व्यावसायिक कृषक सुरेन्द्र केवटले गुनासो गरे। “फर्सी राम्रो भएको थियो, प्याज, खुर्सानी, मुला, धनियाँ, काँक्रो लगाएको थिएँ, सबै नष्ट भयो, सरकारले उचित राहत वा क्षतिपूर्तिको व्यवस्था गरिदिए केही राहत हुन्थ्यो”, उनले भने । यहाँका अधिकांश कृषकको आम्दानीको स्रोत नै तरकारी खेती हो । महेशपुर, परासी, सुनवल, बर्दघाट लगायत नजीकको बजारमा आफूले उब्जाएको तरकारी बिक्री गरेर यहाँका किसानले दैनिक गुजारा चलाउने गरेका छन् ।

कृषकको लाखौँ मूल्यको तरकारीबाली नष्ट भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ । वडा कार्यालयमार्फत पीडित कृषकबाट क्षतिको यकिन विवरण सङ्कलन गरेर उचित राहतका लागि पहल गरिने गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए। आआफ्नो वडा कार्यालयमार्फत क्षतिको विवरणसहितको निवेदन पेश गर्न गाउँपालिकाले पीडित कृषकलाई आग्रह पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्