भोकभोकै अलपत्र परेका बटुवालाई लायन्सकाे दही-चिउरा

काठमाडौं : सुर्खेतस्थित लायन्स क्लबले गन्तव्यतर्फ हिँडेका बटुवा र यात्रुलाई दही-चिउरा खुवाउने गरेकाे छ । कर्णालीका विभिन्न जिल्लाका गन्तव्य तर्फ हिँडेका बटुवा तथा यात्रुलाई लायन्स क्लबहरूले दहीचिउरा खुवाउने गरेका हुन् । भोक भोकै आउने गरेका यात्रु तथा बटुवालाई दहीचिउरा खुवाउन थालिएको लायन्स क्लबका सिनियर डिस्ट्रिक्ट एड्भाइजर विजय पराजुलीले बताए ।

‘काठमाडौं लगायतका जिल्लाबाट आएर धुलियाविटमा रोकिएका यात्रुलाई लायन्स क्लबकाे तर्फबाट दही, चिउरा र पानी खुवाउने गरेका छौँ’ उनले भने, ‘लकडाउन अवधिसम्मका लागि यो कार्यलाई निरन्तरता दिन्छौँ ।’ लकडाउनका कारण होटल–पसल नखुलेका कारण यात्रु र बटुवा भोकभोकै यात्रा गर्न बाध्य छन् । कर्णाली प्रदेश सरकारले त्यस्ता यात्रु र बटुवालाई खाना–खाजाको व्यवस्था गर्न सामाजिक संघसंस्थाहरूलाई सार्वजनिक अपिल गरेको थियो ।

‘भोकाको पेट भर्नु लायन्सको दायित्व हो, त्यसमाथि प्रदेश सरकारले पनि अनुरोध गरेको छ,’ पराजुलीले भने, ‘अरू दिनमा पनि गन्तव्यमा पुग्नका लागि यात्रा गरिरहेका बटुवा र यात्रुलाई खाना र पानीको व्यवस्था गर्छौं ।’ काठमाडौं लगायतका जिल्लाबाट दैनिक १ हजारभन्दा बढी कर्णालीवासी कर्णालीमा भित्रिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्