“घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने?”

पाेखरा।पोखरा महानगर पालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल। अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा कामगर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र । केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो ।

दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरुले पटक/पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरुले आइतबार वडा कार्यालयमा धर्ना दिए । सोही ध’र्नामा हुनुहुन्थ्यो ३९ वर्षीय वीरबहादुर विश्वकर्मा । दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आउनुभएका विश्वकर्माको लक डाउनपछि आम्दानी छैन ।

पाँच जनाको परिवारमा दुई महिनाको सुत्केरी श्रीमती घरमा हुनुहुन्छ। सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान दुई छाक खाने अन्नसमेत छैन। लकडाउनको एक महिना छिमेकीसँग पैँचो मागेर भए पनि सुत्केरी श्रीमती र तीन बालबच्चाको पेट भरेका उहाँको घरमा अहिले पकाउने केही पनि छैन । घरमा चुलो बाल्ने उपाय नभएपछि शनिबार पौरखी समूहले व्यवस्था गरेको पाँच प्याकेट खाना सबैले बाँडेर छाक टारे ।

साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले शनिबार साँझ र आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उहाँले बताउनुभयो। “घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने ? अहिले सबैको अवस्था मेरोजस्तै हो नि ।

सरकारले कि हामीलाई काम गर्न जान दिनुपर्याे नत्र परिवार पाल्न राहत चाहियो”, विश्वकर्माको भन्नुभयो । नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुनसक्ने उहाँको अनुमान छ । वर्षौंदेखि मुस्ताङबाट आएर यहीँ बसोबास गरेको बताउँदै उहाँले एक पटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको बताउनुभयो। राहत माग्दै कृष्ण टोल, पार्वती टोल र शान्तिनगर टोलका २०० हाराहारीका उनीहरुले बास्तोलाथरमा रहेको वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए ।

प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरुको नाम सङ्कलन गरिएको थियो । टोल विकास संस्थाका उपाध्यक्ष समेत रहनुभएका कान्छा लामाले टोल विकास संस्थाबाट १९४ कै नामा वली वडामा पेश गरिएकामा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएकामा अन्य परिवारले राहत नपाएको बताउनुभयो ।

वडाध्यक्ष र सचिवलाई पाँच दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा दुई दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएको तर वडाध्यक्ष सम्पर्कमा नआएको उहाँले बताउनुभयो । “वडाले पक्षपात गरेको छ, एउटै वडा मा भए पनि कोहीलाई राति/राति घरमा राहत पुर्याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ कहिल्यै देख्न पनि नपाउने”, लामाले आक्रोश व्यक्त गर्नुभयो ।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त एक हजार ९४५ आवेदनमध्येबाट पहिलो चरणमा ६८८ परिवारलाई राहत वितरण गरिएको बताउँदै पाउनुपर्ने वास्तविक रुपमा प्रभावित कोही छुटेको भएमा दोस्रो चरणमा दिइने बताउनुभयो । एउटै व्यक्तिले पटक/पटक राहत लिने प्रवृत्ति रहेको भन्दै उहाँले दोस्रो चरणको राहत वितरण गर्नु अघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेका लाई वितरण गरिने जानकारी दिनु भयो । “राहत वितरणलाई प्रभावकारी बनाउन वडा सदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समिति मार्फत राहत दिएका हौँँ । छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौँ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्