प्रधानमन्त्री ओलीलाई पार्टीकै नेता र वरिपरिकाले डुबाए : महेश बस्नेत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान संकटबाट गुज्रिनुको दोष पार्टीकै अन्य नेता रु उनी वरिपरीकाहरुको रहेको पूर्वमन्त्री तथा नेकपा सांसद महेश बस्नेतले बताएका छन् । नेपाल लाइभको समय संवादमा कुरा गर्दै उनले प्रधान मन्त्री ओलीलाई उनी वरिपरिकै घेराले डुबाएको बताएको हुन्। उनले भने, ‘ओली नेतृत्वको सरकारले राम्रा काम नगरेको होइन।

तर त्यसलाई बाहिर प्रस्तुत गर्दा फरक परेको छ । उहाँले भान्सामा मीठो पकाउनु भएपनि त्यसैलाई पस्किनेले अमिलो बनाइदिए। उहाँले शिर्ष नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा केही समस्या आयो भने आमजनताका कुरा उहाँसम्म पुग्न वरिपरिको समूहले रोक्यो।’ यसैगरी समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरणको आरोप लागेका पूर्व मन्त्री तथा नेकपा सांसद बस्नेतले यतिबेला आफ्नो आलोचना भएपनि पाँच वर्षपछि सही ठहरिने बताएका छन्।

नेपाल लाइभसँग कुराकानिमा उनले भनेका छन्- ‘बाहिरबाट हेर्दा अर्को पार्टी फुटाउने काममा लाग्नु गलत लाग्न सक्छ। तर, मेरो पार्टीका लागि सही हो ।’ आफ्ना योजना पूरा हुन नसकेको र्दै उनले स्वीकार्दै समाजवादी पार्टी फुटाउन सकेको भए नेकपालाई ठूलो लाभ पुग्ने बताए। समाजवादीलाई फुटाएर दुई नम्बर प्रदेश सरकार ढाल्ने र केन्द्रमा सरकारलाई दुई तिहाइ बहुमत पुर्याउने योजना रहेको खुलाए।

यसैगरी दुई नम्बर क्षेत्रमा कमजोर बन्दै गइरहेको नेकपाको पकड बलियो बनाउन फुटेको समाजवादीलाई नेकपा समाहित गर्नेसम्मको योजना रहेको उनले प्रष्ट्याए । राजनीतिक दाउपेच यस्तै बेला गर्दा सहज हुने उल्लेख गर्दै समय पनि सही भएको बताए । उनले भने, ‘पृथ्वीनारायण शाहले चाडबाडकै समयमा काठमाडौंमा आक्रमण गरेर नेपाल एकीकरण गरेका हुन्।

यस्ता काम अरुको ध्यान अन्त भएको बेला गर्दा नै सहज हुन्छ। तर हामीले योजना अनुसार काम पूरा गर्न सकेनौं।’ उक्त कामका लागि जिम्मा पाएका केही व्यक्तिले आफ्नो भूमिका राम्ररी निर्वाह गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार काम हुन नसकेको बताए। भिडियो वार्ता यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्