जरिवानाको डरले बाँझो जमिनमा धमाधम खेतीपाती

बुटवल : बुटवल उपमहानगरको बेलवास नयाँगाउँ आठ वर्षअघिसम्म प्रशस्त धान फल्ने क्षेत्र मानिन्थ्यो । सडक किनारमा एकाध घरबाहेक सबै हरियै खेत थियो। त्यो स्वरुप चार वर्षअघि फेरियो । जग्गा प्लटिङ भए । खेतको बीचमा सडक र बिजुलीका पोल ठडिए । प्लटिङपछि धान रोपाईं भएन् । खेत घडेरी बन्यो र बाँझै रह्यो । नयाँगाउँका लेखनाथ गौतमको खेत पनि त्यसैगरी मासियो ।

घडेरी किन्ने केहीले त घर बनाए । तर अरु जमिन बाँझै रह्यो । ५/७ वर्षपछि ती जमिन फेरी पुरानै स्थितिमा फर्किन थालेका छन् । ‘लक डाउनले सबै घरमा बसेपछि खेत जोतेर तरकारी लगाएका छौं, गौतमले भने । बाँझो जमिन जोतेर तरकारी, मकै लगाउने उनी एक्ला हैनन् । छिमेकीले समेत धमाधम तरकारी रोपेका छन् । वडा कार्यालयले घर अगाडिको जमिन बाँझो नराख्नु भन्ने निर्देशन दिएको छ ।

वडाको निर्देशनपछि अरुको घडेरी समेत जोतेर खेती सुरु गरिएको छ । ‘करेसावारीमा तरकारी उत्पादन गरे बजारमा किनिरहनु पर्दैन ‘यसले भारतबाट हुने आयात कम हुन्छ,’ बुटवल १२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले भने। नयाँगाउँ वेलवास क्षेत्रमा बाँझा खेत जोत्ने अभियान नै चलेको छ । जोजस्को घर छेउछाउमा खाली जमिन छ त्यो जोतेर बाली लगाइएको छ ।

प्रायः खेतमा तरकारी रोपिएको छ । मकै, मुङ लगाउने पनि छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जमिन बाँझो नराख्न उर्दी जारी गरेको छ । बाँझो जमिन राख्नेले जरिवाना नै तिर्नुपर्ने निर्णय नगरपालिकाले गरेपछि खेतीपाती सुरु भएको छ । नगरपालिकाको निर्णय अनुसार बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे सधियार वा अन्य व्यक्तिले समेत खेती गर्न सक्नेछन् । अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्