किसानले १० रुपैयाँमा बेचेको काउली उपभोक्ताको भान्सासम्म पुग्दा ३ गुणा बढी

देवराज पन्त, मकवानपुर । देशमा लकडाउन भएसंगै कृषकहरुलाई प्रत्यक्ष रुपमा मारमा परेका छन् । लकडाउन भएपनि खेतबारीमा लगाईएको कृषि उपजले बजार नपाउने र बजार पाई हालेपनि आफूहरुले सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका जिल्लाको कृषि पकेट क्षेत्रको रुपमा परिचित छ ।

सो नगरपालिकाको वडा नम्बर ६ बज्रबाराहीमा पुग्दा त्यहाँ काउली, मुला, मटरकोसाहरु खेतबारीमा टन्नै देख्न पाइन्छ । र, उत्पादित कृषि उपज लिन व्यापारीहरु पनि बारी बारीमा पुग्ने गरेका छन्। कृषकहरु आफूले उत्पादन गरेको काउली प्रतिकेजी ७ रुपैयाँदेखि १० रुपैयाँमा बिक्री गरिरहेको बताएका छन् । कृषकहरु प्रति काउलीको बोटमा ६ रुपैयाँ उत्पादन खर्च नै पर्ने दाबी गरिरहेका थिए ।

कृषकले उत्पादन गरेको काउली एक व्यवसायीबाट विभिन्न व्यवसायीहरुको हात हुँदै उपभोक्ताको हातसम्मपुग्दा प्रतिकेजी ४० रुपैयाँदेखि ५५ रुपैयाँसम्म पुग्ने गरेको छ। यता जिल्ला कृषि सहकारीका अध्यक्ष महेश्वर सुवेदी भने सहकारीका माध्यमबाट नै कृषकहरुको उत्पादन बिक्री गर्नुपर्ने धारणा राख्नु हुन्छ । तर कृषि सहकारी नाम मात्रको भएको वास्तविक किसानहरुका लागि भने केही गर्न नसकेको किसानहरुले नै गुनासो गर्दै आएका छन् ।

यता व्यवसायीहरुको छाता संगठन थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले कृषकले उत्पादन गरेको तरकारी लगायतको कृषि उपज बिक्रिका लागि आफूहरु प्रयत्नशील रहेको बताएका छन्। उहाँले देशका काठमाडौं, पोखरा, हेटौंडा जस्ता शहर र देशैभर रहेका उद्योग वाणिज्य संघसंग समन्वय गरेर उत्पादित तरकारी निर्यात गरिन लागेको दाबी पनि गर्नु भयो ।

तर अहिले जारी विचौलिया संस्कारको कारण कृषकले पनि आफूले गरेको मेहनत अनुसारको प्रतिफल नपाउने र उपभोक्ताले समेत सस्तो र सहजरुपमा तरकारी किन्न नपाउने अवस्था रहेको छ। कृषक र उपभोक्ताको बीचमा विचौलियाले नै सबै फाइदा लिइरहेको बर्तमान अवस्थामा राजनैतिक दलका नेताहरुले देशलाई कृषि क्रान्तिको माध्यमबाट तरकारी र खाद्यान्नमा आत्मनिर्भर बनाउने भाषण भाषणमा नै सीमित नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्