पाकेको भात डल्ला पारेर उफार्दा प्लाष्टिकजस्तै उफ्रिएपछि…

कुश्मा, ६ माघ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित मेलमिलाप चोकमा रहेको स्थानिय प्रेम जैशी लामिछानेकाे घरमा पकाएको भात शं’कास्पद देखिएकाे छ । पात पकाएर डल्लाे पारेर उफार्दा बल जसरी उफ्रिएपछि स्थानीय संशकित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय सशंकित बनेका हुन् ।

लामिछानेले केही समयपहिले स्थानीय व्यापारी लेखनाथ शर्माको पसलबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा खाना डल्ला परेको बताए । भातकाे डल्ला प्लाष्टिक जस्तो गरी उफ्रिएकाे उनले बताए । उनका अनुसार अरुबेला खाना बनाउँदा खासै ध्यान दिइएन । चामल पनि ढिलो पाक्ने र खानाको स्वाद नै अर्कै आएकाले शंका लागेपिछ डल्ला पारेर उफर्दा उफ्रिएकाे हाे ।

आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यलय र उद्योग वाणिज्य संघलाई खबर गरेका थिए । खबर पाएपछि उनकाे घरैमा पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानको लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।

यो पनि पढ्नुहोस : सुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो – बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताउनु भयो ।

बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अलपत्र परेको थियो । बोलपत्र आह्वान भए पनि निर्माणको काम कहिलेदेखि शुरु हुन्छ भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको इञ्जिनीयार भुसालको भनाइ छ । सबै प्रक्रिया केन्द्रबाट र भारतीय पक्षबाट हुने भएकाले आफूहरुलाई खासै धेरै थाहा नभएको उहाँको भनाइ छ । सो बन्दरगाह निर्माणको काम नौ वर्ष अघि शुरु गरिए पनि उल्लेखनीय प्रगति भएको पाइँदैन ।

अहिलेसम्म जग्गा अधिग्रहण र तारबार गर्नेबाहेक खासै प्रगति भएको छैन। ‘अर्को वर्ष बन्छ भन्दाभन्दै नौ वर्ष बितिसक्यो, फेरि बोलपत्र आह्वान गरिएकाले बन्छ भन्ने विश्वास पलाएको छ’, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले भन्नुभयो । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह निर्माणका लागि करिब ९१ बिघा जमीन अधिग्रहण गरिएको छ ।

अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा कार्यालय, गोदाम लगायतका संरचना निर्माण हुने र २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जिनीयर भुसाल बताउनुहुन्छ । सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको छ । ‘सुक्खा बन्दरगाह निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन ।

भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामीले पर्खी बस्नुबाहेक अरु केही गर्न सक्दैनाैँ’, इञ्जिनीयर भुसालले भन्नुभयो । सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुक्खा बन्दरगाहमा मालसामान आयात निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् ।

नेपालका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात निर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोसे ढुङ्गा सावित हुने विश्वास गरिएको छ तर, ढिलो गरी गरिने कामले योजना अनुसार प्रतिफल दिँदैन भन्नेतर्पm राज्य गम्भीर हुनु पनि उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्