बेला-बेला भोक लाग्थ्यो त्यही सेनाले दिएको सातु हिउँमा मुछेर खान्थे !

काठमान्डौ : बैशाख १५ सम्म लकडाउन थपिए पछि मन अतालियो । अझै कति थपिने हो ठेगान छैन भन्ने सुनियो । म र साथीहरु हाइड्रो पावरबाट भाग्ने निधो गर्‍यौ । साथीहरुले पनि त्यहाँबाट भागेर हिँडेरै गन्तव्यमा जाने मनसाय बनाए । २२ जना साथी बैशाख ५ मा हाइड्रोपावर छाडेर भागे । उनीहरु दाङका थिए । म भोलिपल्ट वैशाख ६ गते हिँडे ।

सिन्धुपाल्चोकको म मात्रै थिएँ ।बाटोमा रसुवाको ठूलोढुंगेका नेपाली सेनाले सोधपुछ गरे । सिन्धुपाल्चोक जान लागेको बताएपछि सेनाले ४ किलोजति सातु दिएर बाटोमा खान भने । उनीहरुले सातु थोरैथारै खान भनेका थिए । मैले सिन्धुपाल्चोक पुग्न धेरै समय लाग्छ भनेको थिए । सायद मेरो घर टाढा छ भन्ने लागेर पनि होला उनीहरुले यसो भनेको भन्ने लाग्यो ।म त्यहाँबाट हिँडे । त्यो रात म त्यतै बसेँ ।

७ गते गोसाइकुण्ड सम्म आएको मलाई थाहा छ । त्यहाँबाट घर परिवारसँग सम्पर्क भएको थियो । सेनाले फोन गर्दा मात्र मोबाइल खोल्न भनेका थिए । गफ गर्दा ‘अन’ गर्नु अरुबेला ‘अफ’ गर्नु भनेकाले मैले त्यही गरेँ। गोसाइकुण्डबाट माथि लागेपछि हिउँ पर्न थाल्यो । त्रिसुलीधारामा हिउँ बाक्लो भएकाले म तर्न सकिन । तलतिरै फर्किएँ । लगातार हिउँ परेपछि सबै सेताम्मे भयो ।

म त्यहीँ बसे । हिउँ पर्न छाड्ने कुरै थिएन । त्यतै सुरुङ खोजेर बसे । भोलिपल्ट गोसाइकुण्डको पछाडिबाट हिँडे। हिउँमा सानो पैतालाको छाप देखेर त्यहीलाई पछ्याउँदै हिँडे। हिड्दा–हिड्दा सुर्यकुण्ड आसपास पुगेको अनुमान गरेँ। मसँग एउटा म्याट( प्लाष्टिकले बनेको ओछ्याउने सामान) थियो । त्यसैलाई ओढ्ने र ओछ्याउने बनाएर बसेँ । त्यसपछि लगातार हिउँ पर्यो मैले बाटो नै भेउ पाउन सकिन ।पाँच दिनसम्म एकै ठाउँमा बसिरहे ।

हिउँ रोकिन्छ डाँडामा उक्लिन्छु । फेरि हिउँ आउँछ सुरुङमै फर्केर बस्छु । मैले मुखमा रुमाल बाँधे । हावा बेस्करी चल्दा रुखमा रुमाल बाँध्नुपर्छ भन्ने टे«किङका दौतरीले भनेको कुरा याद आयो । मैले त्यसै गरे । त्यसो गर्दा मलाई सास फेर्न सजिलो भयो ।बेला –बेला भोक लाग्थ्यो । त्यही सेनाले दिएको सातु हिउँमा मुछेर खान्थे ।मोबाइल अन गर्दा नेटवर्क थिएन । मैले कसैलाई खबर पठाउन सकिन ।

कति दिन भयो, कति रात भयो मैले थाहा पाउन छाडिसकेको थिए‘ । निद्रा लाग्दैनथ्यो । सुरुङमा हिउँ भित्रसम्म आउला भनेर घरी पन्छाउँथे‘ घरी बस्थेँ । हिउँले आँखा बन्द जस्तै भयो ।उज्यालोमा हेर्नै सक्दैनथेँ । अब मलाइ कानले सुनेको भरमा सहाराले बाटो खोज्नुपर्ने भयो । तर आवाजको भरमा बाटो खोज्नु त्यति सहज थिएन । हिउँ पर्न अलि रोकियो बिहान उठेर हिँडे, त्यो १६ गते रहेछ । हिँड्दा–हिँड्दै खोला सुसाएको सुने ।

धेरै दिनको हिउँले खोला बढेको रहेछ । म आवाज आएतिरै गएँ । त्यसको तिरैतिर तल गएँ । पछि थाहा पाउँदा त्यो सुर्यकुण्ड खोला रहेछ । दिनभर हिँडे कानको सहारामा । धेरै हिडेपछि दिनको चार बजेतिर (पछि होटलवालाले चार बजे भनेको) मैले मान्छेको आवाज सुने । त्यसपछि म त्यतैतिर जान खोजे । त्यहाँ होटल रहेछ । होटलको मान्छेले सोधपुछ गर्दा हराएको मान्छे भन्ने थाहा पाए ।

मलाई होटलवालाले त्यहीँ राखे । हिउँले मेरोे गालाको छाला उक्केको थियो । आँखा र गाला राता भएका थिए । खुट्टा हिड्न नसक्ने भएको थियो । यस्तो अवस्थामा मलाई होटलवाला भगवान भेटेजस्तो भयो । त्यसपछि मैले आफ्ना परिवारलाई खबर गरे । हिउँमा बाटो भुल्दा मलाई बाँच्न पाए संसार जित्छु जस्तो लाग्थ्यो । हिउँले सारा धर्ती सेतै भएपछि मेरो बाँच्ने उपाए छैन जस्तो लाग्यो ।

म त्यही हिउँमा बाटो भुलेर हराइरहेँ । यता जान्छु उता जान्छु बाटो कतै पहिल्याउन सकिन । जीवन यति मात्रै रहेछ भन्ने लाग्यो । बाँच्न पाए त म के के गर्थे जस्तो लाग्न थाल्यो । मैले नौ दिन त्यस्तै कहाली लाग्दो गरी बिताएँ । मलाई हिउँमा बिताएका पाँच दिन कसरी बिते अहिले पनि याद छैन् ।रसुवागढी हाइड्रोपावरमा कुकको कामका लागि म माघमा त्यता गएका थिए ।

लकडाउन नहुन्जेल म ११ घण्टा काम गर्थे । खाना पनि अफिसले नै दिने गथ्र्यो। लक डाउन भएसँगै मेरो ड्यूटी समय घट्यो । मलाई आठ घण्टा काम र खाना पनि आफ्नै पैसाले खान अफिसले भन्यो । मलाइ चित बुझेन । तलबबाटै खाना पनि खानुपर्ने भएपछि मेरो कमाइ खासै नबच्ने भयो । म लगायत साथीहरुले खाना खुवाउनुपर्ने माग गर्यौपनि तर अफिसले मानेनन् । हामी २२ कर्मचारीलाई यो कुरा चित बुझेन ।

यता घरमा श्रीमतीको डेलिभरि समय आइ सकेको थियो । उता काममा भनेजस्तो कमाइ थिएन । लकडाउन कहिले खुल्छ भन्ने ठेगान थिएन ।वैशाख ३ मा खुल्ला भनेर बसे नखुले पछि त्यहाँबाट आफूखुशी हिँड्नै पर्ने भयो । यसरी बाँच्छु जस्तो नै लागेका थिएन ।(रसुवाको गोसाइकुण्ड आसपासको हिउँमा हराएका सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–४ डाँडागाउँका सुरजसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्