नेपाल-भारत सिमानामा अलपत्र ५ सयभन्दा बढीको उद्धार

बझाङ : बैतडीको झुलाघाट र दार्चुलाको महाकालीपारी रोकिएका नेपालीहरुलाई बिहीबार पालिकाका प्रमुखहरुले उद्धार गरेका छन् । महाकाली पारीका नेपालीहरु वारी आएपछि सम्बन्धित पालिकाका जनप्रतिनिधिले बस रिजर्भ गरेर बझाङ ल्याएका हुन् । बझाङको बुंगल नगरपालिका, बित्थडचिर, सुर्मा तथा केदारस्यूँ गाउँपालिकाका स्थानीयहरुलाई उद्धार गरिएको हो ।

यी पालिका प्रमुखहरु एक हप्तादेखि दार्चुला र बैतडीमा कुरेर बसेका थिए । महाकाली पारी भारतको क्वरेण्टीनमा रहेका नेपालीहरु केन्द्र सरकारको पहलमा नेपाल छोड्ने जानकारी पाएपछि बैतडी सिमानामा आएर उनीहरुलाई बसमा लगेको बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले बताउनुभयो ।

बित्थडचिर गाउँपालिकाका १ सय जना, बुंगल नगरपालिकाका ३ सय ७४ जना, केदारस्यूँ गाउँपालिकाका २१ ज्ना र सुर्मा गाउँपालिकाका ६ जना गरी ५ सय ६ जनालाई उद्धार गरिएको हो। सबै ५ सय ६ जनालाई स्वास्थ्य परिक्षण गरी १४ दिन क्वरेण्टीनमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्