एसईई र कक्षा १२ को परीक्षा गर्न यस्तो परीपत्र

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड बैठकले एसइई र कक्षा १२ का विद्यार्थीलाई घरपायक पर्ने गरी उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय केन्द्रलाई परिपत्र गरेको छ । लक डाउन खुलेर सामान्य परिस्थिति भएपछि लिइने परीक्षामा विद्यार्थी बीचको दूरी कम्तीमा एक मिटर फरक हुनुपर्ने र एउटा उपकेन्द्रमा ५० विद्यार्थी रहने गरी परीक्षा उपकेन्द्र कायम गर्न बोर्डले परिपत्र गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डको निर्णय अनुसार परीक्षा केन्द्र मार्फत बिहीबार सबै जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरिसकेको बताए । सामाजिक दूरी कायम राख्न र विद्यार्थीलाई घर पायक बनाउन परीक्षाको उपकेन्द्र कायम गर्न परिपत्र गरेको उनको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

बोर्डको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले गरेको परिपत्रमा अहिले कायम भएका केन्द्रबाट गाडी वा पैदल मार्फत बढीमा एक घन्टा टाढासम्म पुग्ने विद्यालयमा उपकेन्द्र कायम गर्न सक्ने गरी जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको छ । उपकेन्द्रमा विद्यार्थीबीचको दूरी एक मिटर र सुरक्षाको प्रत्याभूति हुनुपर्ने उल्लेख छ ।

उपकेन्द्र कायम गर्दा ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई सहज हुने अध्यक्ष पौडेलले बताए। उनका अनुसार बाँकी विद्यार्थीका लागि अरू उत्तम विकल्प आएमा समेटिनेछ । सहरी क्षेत्र र तराईमा सहज हुने भए पनि हिमाली क्षेत्रमा थोरै विद्यार्थी हुने भएकाले समस्या हुने बोर्डका कर्मचारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्