‘छाेरीलाई अँगालाे हाल्न र आमा बुवाकाे हेरचाह गर्न चाहन्छु, तर अहिले त्याग आवश्यक छ’ : डा.रुना झा

काठमाडौं : हाम्रो लागि यो सबै त्यतिबेला देखि सुरू भयो, जब एक सय ७५ जना नेपाली विद्यार्थीलाई चीनको वुहानबाट नेपाल ल्याइयो । जहाज फेब्रुअरी १५ मा नेपाल आइपुग्यो र फेब्रुअरी १६ मा मेरो टोली पहिलो पटक क्वरेण्टीन स्थल स्थल प्रवेश गर्‍याे । मेरो टोलीले नमुना लिन हिच्किचाएन । मेरो टोलीका केही सदस्यहरू २१ वर्षका छन् र केहीका घरमा बच्चा छन् तर सबै तयार थिए ।

हामीले रातभर काम गर्‍याैँ र भोलिपल्ट एक सय ७५ जनाकै रिपोर्ट तयार गर्‍याैँ । त्यस बेलादेखि हाम्रो सम्पूर्ण ध्यान को’भिड–१९ को नमुना परीक्षणमा छ र हाम्रो नियमित सेवाहरू बन्द भइसकेका छन् । यो हाम्रो लागि एकदम चुनौती पूर्ण समय हो । अन्य धेरै देशहरूमा अत्याधुनिक प्रयोगशाला र अनुभवी वैज्ञानिकहरू छन्, जसले यस क्षेत्रमा लगभग पूरा जीवन व्यतीत गरेका छन् ।

नेपालसँग सीमित स्रोतहरू छन् तर हामी सक्दो प्रयास गरिरहेका छौँ । को’भिड–१९ को परीक्षणका लागि हामीले दिनकै ६० देखि ७० वटा नमुना पाइराखेका छौँ । साथै, नमुनाहरू अनियमित अन्तरालमा आइपुग्छन् । यसले गर्दा हामीलाई अबेरसम्म काम गर्नुपर्ने हुन्छ । मेरो लागि निर्देशकको रूपमा प्रयोगशालामा अबेरसम्म बस्नु सामान्य भइसकेको छ ।

प्राविधिक कार्यको अतिरिक्त मैले अन्य प्रबन्धहरु गर्नुपर्दछ, जस्तै मेरो टोलीको लागि यातायात र खानाको व्यवस्था गर्ने । यो हाम्रो लागि धेरै कठिन समय हो र मैले उनीहरूलाई प्रेणित गरिराख्नु पर्दछ । उनीहरूले निराश महसुस गरेको थाहा पाउँदा म गएर कुरा गर्छु । उनीहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्ने कुरा बुझाउँछु ।

मेरो व्यक्तिगत जीवनमा पनि परिवर्तन आएको छ । मैले मेरो छोरीलाई मेरो श्रीमानसँगै हाम्रो गृहनगर जनकपुर पठाएको छु, जुन काठमाण्डौको मेरो ड्युटी स्टेशनबाट टाढा छ । त्यसबेलादेखि मेरो अपार्टमेन्टमा म एक्लै बसिरहेको छु । मेरा अभिभावकहरू केवल दुई किलोमिटर टाढा बस्नुहुन्छ र म उहाँहरूलाई हप्तामा तीन पटक भेट्न जाने गर्थे तर लगभग तीन हप्ता भयो मैले उहाँहरुलाई देख्न नपाएको ।

मेरी छोरीले मलाई फोन गर्छिन् र मलाई धेरै मिस गर्ने बताउँछिन् । मलाई पनि मेरो परिवारको निकै याद आउँछ तर म उनीहरूको जीवनलाई जोखिममा पार्न डराउँछु । त्यस कारण दुरी राख्नु महत्त्वपूर्ण छ । मेरी आमाले मलाई फोन गर्नुहुन्छ र भन्नुहुन्छ– ‘घर आऊ, हामी पहिले नै बुढो छौँ, हाम्रो चिन्ता नगर । हामी केवल तिमीलाई हेर्न चाहान्छौँ ।’

म मेरो छोरीलाई अँगालो हाल्न चाहान्छु र मेरा आमाबुबाको हेर विचार गर्न चाहन्छु । तर उनीहरू र अरूलाई सुरक्षित राख्न यो त्याग गर्नु आवश्यक छ । डाक्टर झा काे;राेनाकाे उपचारमा अग्रपङ्तिमा खटिएका पाँच महिला मध्ये एक हुनु हुन्छ । विश्व भर लाखाैँ महिला काेभिड–१९ काे अग्रपङ्तिमा आवश्यक कार्यदलकाे हिस्सा बनेका छन् । विश्वव्यापी रुपमा हेर्ने हाे भने पनि स्वास्थ्य क्षेत्र र सामाजिक क्षेत्रमा महिलाहरुकाे सङ्ख्या पुरुषकाे भन्दा धेरै छ ।

अमाल अल महायराह र हडेल दबिबेह अत्याधुनिक प्रविधिकाे प्रयाेगद्वारा जाेर्डनका महिलाहरुलाई सुरक्षित राख्न लागिपरेका छन् । यान शेङ्गलियानले चीनकाे ग्रामीण क्षेत्रमा सार्वजनिक सेवालाई विस्तार गर्न खटिरहेकी छिन्। डिना स्माइलाेभा काजकिस्तानमा भाइरसकाे सङ्क्रमणसँग सङ्घर्ष गरिरहेकाहरुकाे उपचारमा सहयाेग गर्न तत्पर छिन् । (‘यूएन वुमन’मा प्रकाशित डाक्टर रुना झाकाे अनुभव, उमंग पराजुलीद्वारा अनूदित अंश। )

प्रतिक्रिया दिनुहोस्