वैशाख २६ बाट विद्यार्थी भर्ना सुरु : शिक्षा मन्त्री

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँसत्रका लागि विद्यार्थी भर्ना सुरु हुने बताएका छन्। मन्त्री पोखरेलले भने-‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ । ‘बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको छ ।

वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ ।’ कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने उनले बताए । ‘बन्दा बन्दी कायमै रहे पनि केही खुकुलो गरिने छ । सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ ।’ उनले भने ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय नेपाल पनि प्रभावित बनेको छ। मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्र लाई निर्देशन दिएको समेत बताए । ‘जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको छ,’उनले भने, ‘त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरेका छन् । प्याब्सन, एनप्याब्सन लगायत संगठनसित त्यसैअनुसार कुराकानी भएको छ ।’

प्रतिक्रिया दिनुहोस्