तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ, ७ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्। उपसभा मुख पदबाट राजीनामा दिनु अघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन्।

दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महा सचिवलाई समेत सँगै राखेर आश्वसन दिएको स्रोतले बतायो। दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन् । बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समय सम्म उनैसँग छलफलमा बसेकी थिइन्। पार्टी महासचिव विष्णु पौडेलले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने बताए।

‘उहाँलाई पहिला केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’, पौडेलले भने। अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पाएका छन् । तुम्बाहाम्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ। ‘एक साता भित्रै जिम्मेवारी दिने कुरा भएको छ।

ढिलो भए सभामुख निर्वाचनको प्रक्रियालगत्तै उहाँलाई मन्त्री बनाइनेछ’, नेकपा स्रोतले भन्यो। यो खबर आजको नागरिक दैनिकमा छ । यो पटकको मन्त्रिमण्डल पून र्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्री सरकारमा सहभागी गराउने यो जना बनाएका छन् । यस्तो हुँदा अहिलेका केही मन्त्रीहरुलाई उनले विदाई गर्नसक्छन् । निवर्तमान उपसभामुख डा. तुम्बाहाम्फेलाई भने राम्रै मन्त्रालय दिने ओलीको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्