भारतबाट ‘लखेटिएका’ २१ जना नेपालीलाई नरैनापुर क्वारेन्टाइनमा राखियो

नेपालगञ्ज । लकडाउनकै समयमा गत शनिवार भारतबाट ‘लखेटिए पछि बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ कट्कुइँया स्थित दशगजामा अलपत्र परेका २१ जना नेपालीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले उनिहरुलाई भारतनै फर्काउनु पर्ने अडान राखेको तर उनिहरुले भारत नजाने अडान राखेका कारण दुई दिनदेखि उनिहरु दशगजामै अलपत्र परेका थिए ।

भारतका विभिन्न स्थानमा काम गर्न गएका ती सबै नेपाली नागरिक भएकोले उनिहरुले भारत फर्कन नमानेपछि अन्ततः उनिहरुलाई दशगजामै सशस्त्र प्रहरीले बनाएको ९ वटा टेन्टमा क्यारेन्टाइनका रुपमा राखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनु भयो । भारतको श्रावस्ती क्वारेन्टाइनमा रहेका ती नेपालीलाई भारतीय प्रहरीले कुटपिट गरेर धपाएकोले उनिहरु नेपाल प्रवेश गरेको जानकारी उनिहरुले दिएको अध्यक्ष शाहले बताउनु भयो ।

सशस्त्र प्रहरीद्वारा बनाईएका अस्थायी क्वारेन्टाइनमा राखिएका उनीहरुको खानपिन र अन्य सबै व्यवस्थापन गाउँ पालिकाले गर्ने नरैनापुर गाउँपालिकाले जनाएको छ । भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका उनीहरु शनिवार राती लकडाउनकै बीच नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय हुन् । नरैनापुर गाउँपालिकाको ३ वटा क्वारेन्टाइनमा अहिले ४४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार साहले बताउनु भयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्