नेपाल फर्किएका २४ नेपालीलाई पुनः भारत पठाइयो

जनकपुरधाम:भारतको विभिन्न स्थानबाट नेपाल भित्रिएका २४ जना नेपालीलाई पुनः भारतीय क्वारेन्टाइनमा फर्काइएको छ । धनुषाको महिनाथपुर र इनर्वा क्षेत्रबाट नेपाल प्रवेश गरेका २४ जनालाई सशस्त्र प्रहरीले रोकेर दुई दिन नेपालमा राखी पुनः भारततर्फ पठाएको हो । महिनाथपुर १३ र इनर्वा नाकामा सोमबार बिहान ११ जना आइपुगेका थिए ।

उनीहरु भारतीय क्वारेन्टाइनमा १५ दिन बिताएर बालबच्चासहित कागजपत्र लिइ नेपाल फर्किएका थिए । अलपत्र परेकामध्ये महोत्तरीको भंगहा नगर पालिकाका सितापुरका इन्दल सदाले एउटा रुखको सहारामा वर्षा तथा घाम छल्नु परेको दुःखेसो पोखे । उनले भने, ‘हामी भारतको बिहार राज्य राजनगर स्थित सिमरीमा १५ दिन क्वारेन्टाइनमा राखी चेकजाँचपश्चात नेपाली सिमासम्म आइपुग्यौं, तर यहाँ आएर सशस्त्र प्रहरीले बस्न दिएन, माथिको आदेश आए मात्र जान दिने भन्छन्, हामीलाई खुल्ला चौरमा राखिएको छ, न पानी छ न खाना, राती मच्छरले सुत्नै दिंदैन ।’

सीमामा अलपत्र परेका कमला नगरपालिकाका दिलिप मण्डल खत्वेले भारतमा १५ दिन क्वारेन्टाइन बसेर आए पनि पुनः भारततर्फ फर्काइनु दुःखद रहेको बताए । उनले भने, ‘हामीलाई कुनै स्कुलमा राखिदिए पनि हुन्थ्यो, आफ्नो देश जस्तो अरु ठाउँ कहाँ हुन्छ ।’ बालबच्चा सहित भारतबाट नेपाल फर्किन लागेका उनीहरुलाई मंगलबार पुनः भारतीय प्रहरीमार्फत उतै पठाइएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रतिले जानकारी दिए । अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्