संसदीय समितिद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन

काठमाडौं, २३ बैशाख । संसदीय समितिले सरकारलाई विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन निर्देशन दिएको छ। मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिले विदेशमा रहेका नेपालीलाई ल्याउने पूर्वतयारी गर्न निर्देश गरेको हो । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसको कारण लकडाउनमा विदेशमा अलपत्र परेका एवं रोजगारी गुमाएर विदेशी भूमिमा अलपत्र नेपाली नागरिकलाई ल्याउनका लागि तत्काल पूर्वतयारी थाल्नु पर्ने समितिको भनाई छ ।

यस्तै,वैदेशिक रोजगारीमा गएका नागरिकको यकिन संख्या समेत पेश गर्न सरकारलाई निर्देशन दिएको छ। भारतमा रोजगारीका क्रममा गएका र को;रोनाका कारण समस्यामा परेका नागरिकलाई पनि सरकारले उद्दारको तयारी गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ । समितिले विदेशमा रहेका नागरिकको व्यवस्थापनको तयारी गर्न र दीर्घकालीन योजना तयार पार्न निर्देशन दिएको हो ।

त्यस्तै, समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निजी अस्पतालमा उपचारको व्यवस्था गराउन ध्याकर्षण गराएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले भने भारत तथा खाडी मुलुकमा आर्थिक गतिविधि र निर्माण फेरि सञ्चालन हुन थालेकाले वैदेशिक रोज गारीमा गएका नेपालीलाई ल्याउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभएको थियो ।

यता, मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाका कारण जारी लकडाउन र हवाई उडान बन्द हुँदा नेपालीहरूको भिसा र करार अवधि सकिने जस्ता समस्या पनि आउन सक्ने बताउनुभयो । थुप्रै देशले कामदार कटौती गर्न शुरू गरेकाले ३० प्रतिशतसम्म नेपालीको रोजगारी गुम्न सक्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्