बाबुरामले गरे गोरखाली जनतासँग क्षमायाचना

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गोरखाली जनतासँग महिनामा एकपटक भेटघाट गर्ने कार्यक्रम स्थगित गरेका छन् । नेता भट्टराई को;राना संक्रमणका कारण सामाजिक दुरी कायम राख्नुपर्ने भएकोले सो कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा प्रत्येक महिना कम्तिमा एकपटक गृह जिल्ला गोरखा पुग्ने वाचा गरेका थिए । तर योपटक भने को;रोना महामारीका कारण जिल्ला पुग्न नपाएकोमा दुःख व्यक्त गर्दै उनले गोरखाली जनता समक्ष क्षमायाचना गरेका छन् ।

उनले लकडाउन सकिने वित्तिक्कै जिल्ला आउने प्रतिबद्धता समेत गरेका छन्। त्यस्तै, नेता भट्टराईले यही बैशाख २६ गतेबाट सुरु हुने बजेट अधिवेशनमा आफ्नो निर्वाचन क्षेत्रका विषयबस्तु उठान गर्ने भएकोले त्यसका लागि सुझाव पठाउन समेत आग्रह गरेका छन् । उनले त्यसका लागि आफ्नो इमेल ठेगाना र फोन नम्बर समेत उपलव्ध गराएका छन् ।

गोरखाली दिदीबहिनी दाज्यूभाइहरूसँगग विनम्र अनुरोध

१. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एकपटक गृह जिल्ला/ निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ! परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिए को लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदु:खका कुरा गर्न नपाएकोमा अत्यन्त दु:खित र क्षमाप्रार्थी छु।

यो मैले नचाहेर हैन परन्तु कोरोनाबाट बच्ने अहिलेसम्मको एक मात्र सुरक्षित उपाय मानिस मानिस वीचमा निम्नतम तीन फिट दूरी कायम गर्ने र अनावश्यक भेटघाट/ भीड़भाड़ नगर्ने भन्ने भएकाले तपाईंहरूको निर्वाचित प्रतिनिधिले त्यो अनुशासन र जिम्मेवारी पालन गर्नुपर्दछ भनेर नै हो! यसलाई यहाँरूले यही ढंगले बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दछु र लकडाउन खुल्ने वित्तिकै यहाँहरू समक्ष उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।

२.यही बैशाख २६ गतेबाट संसदको बजेट अधिवेशन भनिने बर्खे अधिवेशन शुरू हुँदै छ र जेठ १५ गते संविधान अनुसार देशको बार्षिक बजेट प्रस्तुत हुँदै छ । यस अधिवेशनमा मैले उठाउनुपर्ने जिल्ला र निर्वाचन क्षेत्रका बिषयवस्तु र बजेट निर्माणकानिम्ति सुझाव यही बैशाख मसान्त सम्म निम्न ठेगानामा पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु: (क) email: brb.1954@gmail.com Viber/WhatsApp: 9808213630 (ख) रोशन पोखरेल (निजी सचिवालय ) फोन/Viber/WhatsApp: 9851102883 धन्यवाद !

प्रतिक्रिया दिनुहोस्