जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द

काठमाडौं, २४ बैशाख । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा जेठ १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रि परिषद बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमन पनि जेठ १८ गते (३१ मे)सम्म बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

यसअघि को;रोना भाइरसको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेको थियो । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो। सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो।

यस्तै सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। यसअघि थप गरिएको लकडाउनको अवघि भोलि (वैशाख २५ गते) सकिँदै थियो। पछिल्लो समय नेपालगन्ज लगायतका स्थानमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवघि थप गरेको हो। यसैबीच भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्