लकडाउनमा स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सुर्खेत : लकडाउनका कारण बैंकिङ सेवा प्रयोग गर्न नसक्ने सेवाग्राहीलाई जुम्लाका स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । लक डाउनका कारण गाउँबाट वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले सेवा ग्राहीको घरघरमै पुगेर भत्ता बाँड्न थालिएको हो । जिल्ला तिला गाउँपालिकाले दोस्रो चौमासिक अन्र्तगत सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरघरमा पुगेर भत्ता बाँड्न थालेपछि अन्य स्थानीय तहले पनि सिको गरेका हुन् ।

सबै वडाध्यक्ष र सचिवलाई परिचालन गरेर घरदैलोमै पुगी भत्ता बाँड्न लगाइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । यता हिमा गाउँपालिकाले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरि रहेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाको भनाइ छ । अन्नपुर्ण पोस्टमा खबर छ ।

गुठीचौर गाउँपालिकाले दुईहजार एकसय ९६ जनालाई हालसम्म दोस्रो चौमासिक अन्र्तगत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । एककरोड २६ लाख ६ हजार आठसय रकम निकासा भएकोमा सबै रकम सेवाग्राहीलाई वितरण गर्न थालिएको सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताए । भौगोलिक रूपमा टाढा भएका गाउँमा गएर सुरक्षा भत्ता वितरण गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्