जथाभावी बाटो काट्दा हजार रुपैयाँ जरिवाना, सवारी चलाउदा मोबाइल चलाए पाँच हजार

काठमाडौं : सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा मिटरमा जान नपाउने ट्याक्सी चालकलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव अघि सारेको छ । उक्त मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार रुपैयाँ, सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गरेमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुका लागि एक हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

निषेधित क्षेत्रमा जथाभावी रुपमा हर्न बजाएमा दुई हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ भने मा’दक पदार्थ सेवन गरेर सवारी चलाएमा पाँच हजार रुपैयाँ रहेको छ। त्यसमा पनि सार्वजनिक सवारीको हकमा भने १० हजार रुपैयाँसम्म जरिवाना लिने भएको छ । विधेयक लागू भएमा मोटरसाइकल तथा अन्य दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडी बस्ने यात्रुले सुरक्षाका लागि हेल्मेट लगाउनु पर्नेछ ।

यसअघि ट्राफिक नियम उल्लघंन गर्ने पैदलयात्रु र सवारी चालकलाई प्रहरीले २० मिनेटदेखि २ घण्टासम्म सचेतना कक्षा दिने गथ्र्यो भने एक हजार देखि १५ सयसम्म जरिवानाको व्यवस्था गरेको थियो । यो विधेयक लागू भएमा सवारी सञ्चालनमा फाइदा पुग्ने महानग रीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए । ‘सवारी साधनको चाप दिनप्रतिदिन बढिरहेको छ’ ढकालले भने, ‘साना ठूला सबैखाले सवारी साधनलाई हुने गरी ल्याएको विधेयक छ लागू भएमा सवारी दुर्घटना पनि घट्नेछ ।’

त्यस्तै उपत्यकाका बढी ट्राफिक जाम हुने १० स्थानमा अब सवारी चालकले एकतर्फी अर्थात् ‘वान वे’ का रुपमा मात्र सवारी चलाउन पाउने छन् । त्यस्तै बागबजारबाट पुतलीसडकतर्फ, कुमारीमोडबाट कमलादीतर्फ, पद्मोदयमोड बिजुलीबजार सिंहदरबार दक्षिणगेट बाट माइतीघर जाने बाटोमा दायाँतर्फ मोड्न निषेध लेखिएका बोर्डहरु राखि ट्राफिक व्यवस्थापनमा कडाइ गर्न लागिएको छ ।

उपत्यकाको सडक व्यवस्थापन र जाम कम गर्न थप १ सय २४ स्थानमा सीसीटिभि तथा मोवाइल सिसि क्यामेरा जडान गर्ने योजना बनाइएको छ । हाल उपत्यकाभित्रका विभिन्न १ हजार ७ सय स्थानमा सीसीटिभि क्यामेरा जडान गरिएको छ । त्यस्तै चालु आर्थिक वर्षभित्रै १४ स्थानमा ट्राफिक बत्ती जडान गरिने भएको छ । जस अन्तर्गत काठमाडौंका ६ स्थान भक्तपुर र ललितपुरका ४–४ स्थानमा बत्ती जडान गरिने महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्