डडेल्धुरामा बिरामीको निःशुल्क सेवा गरेर बझाङ तर्फ लागे डा.गोविन्द केसी !

डडेल्धुरा। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगेका छन्। डडेल्धुरामा ६५ दिन निःशुल्क सेवा पूरा गरेका डा. केसीले बिहीबारदेखि जिल्ला अस्पताल बझाङबाट निःशुल्क सेवा सुरु गरेको अस्पताल स्रोतले जनाएको छ। उनी त्यहाँ करीब एक हप्ता काम गर्ने बुझिएको अस्पतालले जनाएको छ।

गत फागुन २० गते निःशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुगेका थिए। केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन् । डडेल्धुरा रहँदा हाडजोर्नी सम्बन्धी समस्या भएका धेरै सुदूर पहाड बासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए । डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार केसीबाट सेवा लिन डडेल्धुरा सहित बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गर्थे।

धेरैजसो बिरामीले उ,पचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले बताए। ६५ दिन डडेल्धुरा अ,स्पतालमा सेवा प्रदानपश्चात् सुदूरपश्चिमको विकट जिल्ला बझाङ गएका उनले जानकारी दिए। ‘दुई महिने निःशुल्क सेवा दिएर हिजो मात्रै उहाँ (केसी) बझाङ जानुभएको छ।

अब केही दिन उतै सेवा दिनुहुन्छ’ उनले भने। दिनमा एक छाक मात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिएका भट्टले बताए। उनका अनुसार डा.केसीले ३५ सय पर्ने १५जोडा बैशाखी किनेर अस्पताललाई दिएका छन्। केसीको अब डडेल्धुरा बाहेक अन्य पहाडी जिल्लामा घुम्ने योजना रहेको भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्