छिटै स्वदेश फर्किने धेरैको आश

काठमाण्डौ – कतारको ४० डिग्रीको गर्मी । बाहिर हेर्दा पनि आँखा तिरमिराउँछन् । पहिले त दिनभरी काम गरेर समय बित्थ्यो । अहिले काम पनि छैन, समय बिताउने अरु बहाना पनि छैनन् । कम्पनी बन्द भएपछि एक महिनादेखि कोठा भित्रै थुनिएका समिर खड्का भित्तामा झुण्ड्याएको क्यालेण्डरमा दिन गन्दै बस्नुहुन्छ ।

उहाँले काम गर्ने रेष्टुरेन्ट बन्द भएको ठ्याक्कै एक महिना भयो । काम हुँदा खानाको समस्या थिएन, रेष्टुरेन्टले नै खाना दिन्थ्यो । तर रेष्टुरेन्ट बन्द भएपछि भने समिर लाई खाना खर्च आफैले जुटाउनु परेको छ । यति मात्र होइन, उहाँलाई तलब नपाइने चिन्ताले पनि पिरोलेको छ । रेष्टुरेन्ट सञ्चालकले काम नभए तलब दिन नसक्ने संकेत गरेपछि चिन्ता झनै थपिएको हो ।

त्यही भएर यस्तोबेला आफूसँग भएको पैसा सकिएपछि के गर्ने, कहाँ बस्ने होला भनेर उहाँ कहिले आफूसँग भएको पैसा गन्नु हुन्छ, कहिले कति दिन पुग्ला भनेर भित्तामा झुण्ड्याएको क्यालेण्डर हेर्नु हुन्छ । समिर जस्तै वैदेशिक रोजगारीमा खाडी तथा मलेसियामा रहेका धेरै नेपालीहरुले यस्तो समस्या भोगिरहेका छन् । कतिपयको जागिर नै गुमेको छ भने कतिपय जोखिम मोलेर काम गरिरहेका छन् ।

कसैको करार तथा भिसाको म्याद सकिएको छ भने कसैलाई पारिवारिक समस्याका कारण नेपाल फर्कनैपर्ने बाध्यता छ । यूएईमा रहेका रघुनाथ सिम्खडा आमाको उपचार गर्नको लागि नेपाल जान नपाउँदा पीडामा हुनुहुन्छ । ‘आमाको मुटुको भल्भको शल्य क्रिया गर्नुपर्ने भएकाले जसरी भए पनि घर जानुपर्ने थियो, तर जान नपाइने भयो’ उहाँ भन्नुहुन्छ, ‘यस्तो समस्या त बुझ्नुपर्ने हो नि सरकारले ।’

अहिले उहाँको काम पनि छुटेको छ । भिसा पनि सकिने क्रममा छ । कम्पनीले दुई महिनासम्मको तलब नदिने भनेर हस्ताक्षर गर्न लगाइसकेको छ । यस्तो बेला के गर्ने, कसलाई भनेर आफ्नो समस्या समाधान हुन्छ भन्नेमा उहाँ आफै अलमलमा हुनुुहुन्छ। नेपाली श्रमिकको मुख्य गन्तव्य खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ ।

जोखिमबाट बच्न ती देशहरुले लकडाउन थपिरहेका छन् ।कतिलाई लकडाउन कहिले खुल्ला र काममा फर्किन पाइएला भन्ने लागेको छ । यस्तै लकडाउन खुल्नेबित्तिकै नेपाल फर्किन पाइन्छ भनेर आश गरेर बस्नेहरु पनि धेरै छन्। गैरआवासीय नेपाली संघ, एनआर एनएले गरेको सर्वेक्षणअनुसार यूएईबाट मात्रै १० हजारभन्दा बढी श्रमिक स्वदेश फर्कने पर्खाईमा छन् । उज्यालो अनलाइनमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्