अलपत्र नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा !

भीमदत्तनगर : क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बस्नुभएको छ । उत्तरा खण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो ।

करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कँग्रेस प्रदेश महा सचिव कापरीले भोजनको व्यवस्थापन समेत गर्नुभएको छ । “लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो ।”

खटिमाको सञ्जयपार्क शहीद स्मृतिमा धर्नामा बसेका उहाँले भन्नुभयो, “खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।” अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी प्राप्त भइरहेको बताउनु भयो । “हाम्रो अफिसियल तथ्याङ्क अनुसार सीमावर्ती भारतीय बजार बनबासा र टनकपुर क्वारेन्टाइनमा २५१ नेपाली छन्”, उहाँले भन्नुभयो, “नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन आएको छैन ।”रासस

प्रतिक्रिया दिनुहोस्