यस्ता सवारी साधनलाई पास नचाहिने, सवारी साधन चलाउने समय तालिका

काठमाडौं, वैशाख २७ । काठमाडौं उपत्यकामा आइतबारदेखि सवारी–साधन चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । अत्यावश्यक सेवाका कार्यालय तथा व्यापरिक प्रतिष्ठानहरु खोल्ने तयारीस्वरुप उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा महानगरीय ट्रापिक प्रहरी महाशाखाले सवारी–साधनमा टाइम कार्ड लागू गर्ने निर्णय गरेका हुन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सरकारी कार्यालयका कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जाने र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ ।

यी सेवाका कार्यालयहरुमा एक तिहाइ कर्मचारीमात्रै रहनुपर्ने व्यवस्था गरिएको छ भने उनीहरु पनि तोकिएको समयभन्दा बाहेक सडकमा निस्कन पाउने छैनन् । यस्तै, तरकारी तथा खाद्य सामग्री ओसार्ने सवारी–साधनले बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नु पर्ने छ भने पानी वितरण गर्ने सवारी–साधनलाई रोकतोक गरिएको छैन । निर्माण सामग्री ढुवानी गर्ने सवारी–साधन भने साँझ ८ बजदेखि बिहान ६ बजेसम्म चल्न पाउने छन् ।

‘लक डाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवत जावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने निष्कर्ष निकालेका छौँ, इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने भन्ने बैठकको निष्कर्ष रहयो, यो निर्णय गृहमन्त्रालयमा पठाउँछौँ’, प्रजिअ दाहालले भने । सर्वसाधारणले विना काम घरबाहिर निस्कने वा सवारी–साधन लिएर हिँड्न नपाउने पनि ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्