मानसरोवर जाने सडक बनाएको जानकारी थियो, वार्तामा बस्न भारत मानेन : मन्त्री ज्ञवाली

काठमाडौं।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले मानसरोवर जाने सडक बनाएको विषय सरकारलाई यसअघि नै जानकारी भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भारतले उक्त सडक बनाएको पहिला नै जानकारी भएको र त्यसलाई समाधान गर्न सरकारले गरेको प्रयास सफल हुन नसकेको बताए।

‘भारतले बाटो बनाउँदै गरेको विषय सरकार लाई पहिला नै जानकारी थियो,’ मन्त्री ज्ञवालीले भने, ‘यो विषय समाधानका लागि हामीले बारम्बार प्रयास गरिएको हो । फेब्रुअरीमा अनौपचारिक वार्ता पनि भएको थियो । तर को;रोना भाइरस संक्रमणका कारण त्यो अगाडि बढ्न सकेन।’ मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर एकतर्फी रुपमा सडक बनएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारले भारतलाई कुटनीतिक नोटसमेत पठाएको जानकारी दिए।

२००५ मा यस बाटो सडक निर्माणको निर्णय २००८ बाट सुरु भएको २०१४ बाट सडक निर्माण कार्यले गति लिएको देखिएको मन्त्री ज्ञवालीले जानकारी दिए। भारतका प्रधानमन्त्रीको चीन भ्रमणको शिलशिलामा २०१५ मेमा भारत र चिनियाँ पक्षबीच नेपाली भूमि लिपु लेकलाई व्यापारिक केन्द्र बनाउने निर्णय गरेपछि त्यतिबेला पनि नेपालले यसमा कुटनीतिक तबरबाट आपत्ति जनाएको ज्ञवालीले बताए।

मन्त्री ज्ञवालीले भारतसँग यी विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय वा मन्त्री स्तरीय छलफलका लागि पहल गर्दा भारतले को;रोना संक्रमण पछि वार्ताको टेबुवमा बस्न तयार छौं भन्ने जवाफ आएको जानकारी दिए । उनले यस्ता विषयमा सत्ता र प्रतिपक्ष नभए राष्ट्रिय एकता कायम गर्दै समस्या समाधान गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्