चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथा बारे सूचना

काठमाडौँ, वैशाख २८ गते । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले यसअघि सगरमाथा बारेको वि’वादास्पद सूचना सच्याएको छ । यस अघि मे २, २०२० मा सिजिटिएनले सगरमाथा माथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ । तर, नेपाली भूभागमा रहेको विश्वकै सर्वोच्च शिखरबारे गरिएको गम्भीर भुलका लागि सामान्य माफी समेत मागेको छैन । चीनले पछिल्लो समय आफ्नो सीमाक्षेत्र अर्थात् सगरमाथाको तिब्बती भूभागमा फाइभ जी इन्टरनेटको बेस स्टेशन निर्माण गरेको छ ।

चाइना मोबाइल र हुवावे कम्पनीले यो स्टेशन निर्माण गरेका हुन् । ६ हजार ५ सय मिटरको उचाईमा निर्माण गरिएको यस स्टेशनलाई चीनले विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेशनका रुपमा प्रचार गरिरहेको छ। सगरमाथाको उत्तरी मोहडा चीनमा पर्छ । नेपालको सोलुखुम्बुमा पर्ने सगरमाथा विश्वभर प्रशिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्