सिमानाबाट नेपालीको प्रश्न- ‘भारतले क्वारेन्टाइनमा नराख्ने, नेपालले फर्काइरहने, हामी कहाँ जाने ?’

बुटवल, २९ वैशाख । रुपन्देहीको कोटहीमाइ गाँउपालिका १ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्। बम्बैको कपडा उद्योगमा ६ महिना काम गर्न नपाउँदै कारोनाको त्रास फैलीयो। उद्योग बन्द भयो। लकडाउनले काम खोसीएपछि बेखर्ची भएका उनीहरुले कयौ रात सडकमै बिताए। भोकभोकै बसे।

सडकबाट पनि प्रहरीले लखेटे पछि घर फर्कनुको बिकल्प भएन। सत्र दिन अघि बम्बैबाट हिडेका उनीहरु मालबाहक ट्रक र पैदलै गरेर शनिबार सीमावर्ती बजार नौतनवा आइपुगेका थिए । नौतनवा त्यही ठाँउ हो जहाँ नेपाल फर्कन खोज्ने नेपालीहरुलाई राख्न भनेर क्वारेन्टाइन बनाइएको छ। अहिले पनि सो क्वारेन्टाइनमा केही नेपाली छन्।

तर लोध दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले बम्बैबाट फर्केको भनेपछि क्वारेन्टाइनमा राख्न मानेन। बरु मर्चवार पारिपट्टीको ठोठरी बजार पुर्याइदिए। भारतीय सुरक्षाकर्मीले रातीको समयमा ठोठरी–मुडिला नाकाबाटै नेपाल पस्न दवाव दिए। तर सशस्त्रले दशगजामै रोकी दियो। नेपालका सुरक्षाकर्मीले उनीहरुलाई नौतनवाको क्वारेन्टाइनमा राखिदिनु भनेर भारतीय सुरक्षाकर्मीकै जिम्मा लगाइदिए।

तर भारतीयले उनीहरुलाई क्वारेन्टाइन लैजानुको साटो मर्चवारी गाँउपालिका १ स्थित कुरहवा नाका तर्फ खेदाए । त्यही नाकाबाट आइतबार बिहान ३ बजेतिर लोध दाजु भाई सहित अरु सात जना नेपाल पस्दै गर्दा सशस्त्रले फेरी नियन्त्रणमा लिएर एस एसविलाई नै बुझाइदियो। ‘हामीले उनीहरुलाई नौतनवाको क्वारेनटाइनमा राखिदिनु भनेर एसएसवीको जिम्मा लगाएका छौं’ कुरहवामा खटिएका सशस्त्रका एकजना जवानले भने।

नेपालका सुरक्षाकर्मीहरुले नौतनवा क्वारेन्टाइन पठाएका भनिएका ती दाजुभाइ सहितको १७ जनाको टोलीलाई एसएसवीले क्वारेन्टाइनमा हैन ठोठरीमै चौरमा राखेको छ । आइतबारै राती मुडिला नाकाबाटै नेपाल छिराउने योजना सहित उनीहरुलाई ठोठरीमा राखिएको हो। ‘राती ९ बजे पछि तिमीहरुलाई नेपाल पठाइ दिन्छौ । आज नभए भोली त जसरी पनि घर जान पाउँछौ भनेर एस एसवीका जवानले भनेका छन’ नागरिकसंगको टेलिफोनमा कुरा कानीमा लोधले भने । याे खबर नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्