विद्यार्थी लकडाउनमा : तीन महिनाको शुल्क तिर्न निजी स्कुलको पत्र

काठमाडौं : विद्यार्थी र अभिभावक कोभिड–१९ भाइरस संक्रमण त्रासका कारण लक डाउनमा बसिरहेको बेला राजधानीको एक निजी स्कुलले अभिभावकसँग पढाई नै नभएको वैशाखसहित आगामी असार महिना सम्मको शुल्क तिर्न ताकेका गरेको छ। लाजिम्पाटस्थित बेस्ट मन्टेश्वरी इलेमेन्टरी स्कुलले अभिभावकलाई शुल्कको बिल पठाउँदै एकैपटक २०७७ साल वैशाखदेखि असारसम्मको शुल्क तिर्न आग्रह गरेको छ।

शुल्क माछापुच्छे बैंकको लाजिम्पाट शाखामा जम्मा गर्नुपर्ने भन्दै खाता नम्बर समेत उपलब्ध गराएको छ।यस स्कुलले शिक्षा मन्त्रालय तथा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन समेत अवज्ञा गरेको छ। गत शैक्षिक वर्षको चैत महिनाको शुल्क नलिन सरकारले दिएको निर्देशन समेत यो स्कुलले पालना गरेको छैन। उसले पढाइ नै नभएको बैशाख महिनाको शुल्कमा भने ३० प्रतिशत छुट दिने निर्णय भएको अभिभावकलाई पठाएको पत्रमा उल्लेख छ।

विद्यालयको निर्णयप्रति अभिभावकले गुनासो गरेका छन्। अभिभावकलाई पठाइएको शुल्क विवरण सहितको पत्रमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वार्षिक शुल्क ३७ हजार ५ सय रुपैंया तोकिएको छ । सोही तहका विद्यार्थीलाई मासिक शुल्क प्रति महिना दश हजार ५ सयको दरले तीन महिनाको ३१ हजार ५ सय रहने तर उक्त शुल्कमा ३० प्रतिशत छुटपछि २२ हजार ५ सय मात्रै दिएपनि हुने अभिभावकलाई दिइएको पत्रमा उल्लेख छ। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्