उद्यम गर्ने सोचमा हुनु हुन्छ ? सरकारले दिँदै छ ५ देखि ५० लाखसम्म अनुदान

काठमाडौं:सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई व्यवसाय सञ्चालन गर्न ५ देखि ५० लाख रूपैयाँसम्म अनुदान दिने भएको छ । सोमबार राष्ट्रिय योजना आयोगले नवप्रवर्तन (स्टार्टअप) प्रस्ताव आह्वान गर्दै यस्ताे जानकारी दिएकाे हाे । सुरुवाती पुँजी अनुदान पाउन एक महीनाभित्र प्रस्ताव पेस गर्नुपर्ने छ ।

पेस गरिएका प्रस्तावमध्ये उत्कृष्टले यस्ताे अनुदान पाउने छन् । नेपाल सरकारको मान्यताप्राप्त निकायमा दर्ता भएका सूचना प्रविधि, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, उद्योग, वातावरण लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित स्टार्टअपले अनुदानका लागि आवेदन दिन सक्नेछन् । डेढ वर्षभित्र यस्तो नवप्रवर्तनको काम सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको छ ।

छनाेट भएका स्टार्टअपहरूले न्यूनतम १० देखि १ करोड रूपैयाँसम्मको परियोजनाको कुल लागतको ५० प्रतिशत सम्म अनुदान पाउनेछन् । याे हिसाबले ५ देखि ५० लाखसम्म अनुदान दिइने छ । योजना आयोगका अनुसार नव प्रवर्तनका उद्यमलाई यस्तो अनुदान उपलब्ध गराउन लागिएको हाे । सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वरोजगारी सिर्जना तथा सीप, उद्यमशीलताको विकास गर्न बीउ पुँजी उपलब्ध गराउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्