विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

रमेश गिरी, भक्तपु। भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चार वर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको को’भिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडीमुलुक सम्मका नेपाली सरकारले कहिले नेपाल फर्काउला भन्ने आशामा छन्।

काभ्रेमण्डन देउपुर घर भई लामो समय सानोठिमी क्याम्पसका विद्यार्थी नेतासमेत रहेका ढकाल यतिखेर कोरियामा अलपत्र परेका नेपालीको उद्धार गरिदिन सरकारलाई आग्रह गर्छन्। भिसा सकिएका नेपाली घर फर्कन पाउने आशामा बसेका छन्। सरकारले यहाँका पीडित नेपालीको उद्धार गरिदेला भनेर दूतावास धाउँदा हैरान भइसकेको बताउँछन्।

ढकालका अनुसार यहाँ खान बस्न मासिक पाँच लाख वन (रु ५० हजार) खर्च हुन्छ, वैधानिकरुपमा बसेका विदेशीले कोरिया सरकारलाई अनिवार्यरुपमा मासिक एक लाख १३ हजार वन (रु १२ हजार) तिर्नुपर्छ। कोरियाबाट ढकाल भन्छन्, “नेपाल जाने अत्तोपत्तो छैन, दुतावासमा सोध्दा कर्मचारीले समाचार हेर्दै गर्नुस् भन्छन्, हामीले कमाएको पैसा कोरियामै सकिने भो, हामी हाम्रै खर्चमा फर्कन्छौँ, सरकार बिन्ती छ, हामीलाई नेपाल फर्काइदेऊ।”

सरकारले उद्धार गरिदिए कोरियामा सक्ने पैसा नेपालमै खर्च गर्न तयार रहेको बताउँदै ढकाल भन्छन्, “सरकारले भिसा सकेर विदेशी भूमिमा अलपत्र परेका लाई तत्काल उद्धार गरे पुग्छ, उद्धारमा लाग्ने विमान चार्टर खर्च, नेपाल आएपछि क्वारेन्टाइनमा बस्न लाग्ने खर्च, होटलमा क्वारेन्टाइन बनाएर राखे, त्यसको खर्च सबै हामी आफैँ व्यहोर्छौं, सरकारलाई व्ययभार पार्दैर्नौं, विदेशमा कमाएको पैसा विदेशमै सक्नुभन्दा नेपालमै खर्च गरौँला, मात्रै सरकारले नेपालीलाई विमानस्थलमा ओर्लिने अनुमति दिए पुग्छ।”

अन्तर्राष्ट्रिय कानूनअनुसार पनि नागरिक आफ्नो देश फर्कन पाउने नैसर्गिक अधिकार हो। कतारबाट नेपाल फर्कने आशामा बसेका सन्तोषी कार्की भन्छन्, “नेपालबाट सबै देशले आफ्ना नागरिकको उद्धार गरेर लगि सक्यो, हाम्रो देशले फर्काउनु पर्दैन? हाम्रो पीडा कहिले बुझ्छौ सरकार?” अहिले अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, क्यानडा, मलेसिया, कतार, युएई, साउदी अरेबिया तथा अमेरिका, युरोप खाडी मुलुकमा रहेका लाखौँ नेपाली देश फर्कन आतुर छन्।

विगत ११ वर्षदेखि अमेरिकाको टेक्सस्मा छोराबुहारीको आग्रहमा तीन महिना अमेरिका घुम्न गएका काठमाडौँ चाबहिलका ५२ वर्षीय विष्णुप्रसाद न्यौपाने दम्पत्ती अलपत्र छन् । न्यौपाने भन्छन्, “छोरा बुहारीका करले अमेरिका घुम्न आइहालियो, अहिले यतै फस्याैं, म मुटुको रोगी, श्रीमतीलाई सुगरको समस्या छ, तीन महिना घुम्न आउँदा यतै मरिन्छ कि भन्ने डर भो, अब त छोराबुहारी पनि नेपाल फर्कन चाहन्छन्, तर कसरी घर पुग्ने खोई?”

विगत १७ वर्षदेखि बाल्टिमोरमा बस्दै आएका छोराबुहारीसँग विगत पाँचवर्षदेखि ६ महिना अमेरिका र ६ महिना नेपाल बस्दै आउनुभएका ५७ वर्षीय सुदर्शन बस्नेत दम्पत्ती यतिखेर छुट्टिएर बस्नुपरेको छ। छोरा बुहारीको आग्रहमा अमेरिकाको नागरिकता लिएर हरेक वर्ष ६ महिना नेपाल र ६ महिना अमेरिका बस्ने बस्नेत अहिले उतै छन्। श्रीमती सुभद्रा एक्लै अहिले सूर्यविनायकस्थित नयाँबस्तीको घरमा छन्।

नेपालमा एक आफन्तको छोरीको विवाहका लागि दुई महिनाअघि नेपाल आएकी सुभद्रा भन्छिन्, “अमेरिका बाट नेपाल हामीसँगै आउने जाने गथ्र्यौं, विवाहमा आउनैपर्ने भए पछि म छिटो आएँ, कोरोनाले अकस्मात् लक डाउन हुँदा उहाँ अमेरिकामै पर्नुभयो, दुई छोरा बुहारी र श्रीमान् अमेरिकामा, म एक्लै यता, चिन्ताको डढेलोले सक्ला जस्तो भयो।” उनी पनि अलपत्र नेपालीलाई फर्काउने व्यवस्था गरिदिन नेपाल सरकारलाई आग्रह गर्छिन्।

अमेरिकामा को;रोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जानु, दिनानुदिन बेरोजगार बढ्दै जानु र अमेरिकाले समेत विदेशीलाई आफ्नो देश फर्कन आह्वान गरि सकेकाले सरकारले तत्काल नेपाल फर्काउने व्यवस्था गर्नुपर्ने अमेरिकाको मेरिल्याण्डमा नर्सिङ पढ्दै गरेकी सुजाता पाण्डे बताउँछिन्। पाण्डे विद्यार्थीलाई थप समस्या भएको बताइन्। एकातिर काम नपाउनु र अर्कोतर्फ पढाइ नहुनुको पीडाले गर्दा को;रोनाले भन्दा भोक र शोकले यतै मरियला भन्ने डर भएको गुनासो गरिन्।

उनी भन्छिन्, “दिनदिनै आमाबुबा रुँदै फोन गर्नुहुन्छ, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स भित्र्याउँदा मख्खपर्ने सरकार यतिखेर विदेशमा आफ्ना नागरिक समस्यामा पर्दा किन बेवास्ता गर्छ? सरकार हामीलाई हाम्रो देश आउन देऊ।” सबभन्दा धेरै समस्या त भ्रमण भिसा र सेमिनारमा जानेहरुलाई परेको उनीहरु बताउँछन्। अमेरिकामा रहेका नेपालीले दूतावासमा दैनिक सम्पर्क गर्ने गरेका छन्।

तर दूतावासले सरकारले निर्णय नगरेसम्म केही गर्न नसकिने जवाफ फर्काउने गरेको बताउँछन्। त्यहाँका नेपालीले गैरआवासीय नेपाली सङ्घसमेत गुहारेका छन्। सङ्घले दूतावासदेखि सरकारसमेतलाई दबाब दिइरहेको छ।यता लण्डनमा विगत १४ वर्षदेखि बस्दै आउनु भएका काठमाडौँको बानेश्वर, शान्तिनगरका शमशेर शर्माको परिवार नेपाल फर्कन आतुर छ। नेपालमा कम्प्युटर इन्जिनीयर र श्रीमतीको विद्युत् प्राधिकरणको जागिर छाडेर लण्डन पुगेका उनीहरु यतिखेर भने देश सम्झिरहेका छन्।

विशेषगरी बेलायतमा अध्ययनका लागि जानेहरु अहिले ज’टिल समस्यामा परिरहेको बताउँदै शर्माले लामो समय देखि बेलायमा बस्दै आएका नेपालीहरु आफ्नै खर्चमा पनि नेपाल फर्कन आतुर रहेको बताउँछन् । अष्ट्रेलियामा एक वर्ष अगाडि अध्ययनका लागि गएका भक्तपुरको सूर्यविनायक नगरपालिका–४ का सुसन अधिकारी अहिले धेरै नेपाली बिचल्लीमा परेको बताउँछन्। अष्ट्रेलियामा एनआरएनले केही सहयोग गरे पनि बाँच्न निकै कठिन भएको उनले बताए।

अधिकारीले भने, “कलेज बन्द छ, काम छैन, कोठाभित्रै बसेर कसरी बाँच्नु, यहाँ आउँदा ऋणको भारी बाबुआमाले बोकिरहेका छन्, घरबाट पैसा पठाइदेऊ भन्ने अवस्था पनि छैन, यहाँको सरकारले पनि आफ्नो देश फर्किन भनिसकेको छ, सरकारले घर फर्कने व्यवस्था गरिदिए बाँचिन्थ्यो कि भन्ने आशा छ।” खाडी मुलुकमा रहेका नेपालीको पीडा त्योभन्दा पनि बढी छ। “खाडी मुलुकबाट भित्रिएको रेमिट्यान्सले देश चलेको छ त्यसैले सरकार खाडी मुलुकमा फसेका नेपालीको उद्धार गर”, मलेसियमा तीन वर्षदेखि कार्यरत भक्तपुर सिपाडोलका हरिष मानन्धरले भने।

को;रोना भाइरसका कारण सबै नेपाली बेरोजगार भएको बताउँदै उहाँ कैयौँ नेपाली घर न घाटको भएर बस्नुपरेको बताए। खाने, बस्ने व्यवस्थासहितको रोजगारीमा आएका नेपालीहरु कामगर्ने कम्पनी बन्द भएपछि तलब पनि दिन छाडेको र कतिपय कम्पनीले खाने बस्ने सुविधासमेत नदिएपछि बिचल्लीमा परेको बताए। केही नेपालीमा समेत कोरोनास सङ्क्रमण देखिएपछि त्रास बढेको छ भने खान र बस्न नपाएपछि धेरै मनोरोगीसमेत हुन पुगेका बताइन्छ।

एकवर्षअघि रोजगारीका लागि युएईमा जानुभएका काठमाडौँ रामकोटका रविराज गिरी सरकारले कहिले घर फर्काउला भन्ने आशामा बसेको बताउँछन्। कोरोनाका कारण कम्पनी बन्द भएर तलब नदिएको र कम्पनीले नेपाल फर्किन भनेको बताउँदै धेरै नेपाली काम दारको बिचल्ली भएर सडकमा बास भएको बताउँछन्। बिरामी उनी नेपालबाटै औषधि मगाउने गरे पनि अहिले औषधि नआउँदा थप समस्यामा परेको बताउँछन्।

सरकारलाई विदेशी भूमिमा रहेका नेपालीलाई भित्र्याएर सुरक्षित व्यवस्था गर्न चौतर्फी दबाब परेको छ। कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत पेश भएको छ। विभिन्न पार्टी र नेताले देश फर्कन चाहने नेपालीलाई सरकारले खर्च गर्न नसके उनीहरुकै खर्चमा ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने गरी तत्काल त्यसको तयारीमा सरकार छिट्टै लाग्न मागसमेत गरेका छन्।

सरकार भने यथास्थितिमा विदेशमा रहेका नेपालीलाई फर्काउने तयारीमा छैन। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले नेपालमा भारतबाट सिमापार गरेर आउनेबाटै कोरोना सङ्क्रमण बढ्दा सम्हाल्न नसक्ने अवस्था देखिएकाले यथास्थितिमा विदेश बाट तत्काल ल्याउन समस्या भएको बताउँछन्।

“विदेशमा समस्यामा परेका नल्याउने त कुरै भएन, त्यस मामिलामा सरकार सकारात्मक छ, तर तपाईं आफैँ हेर्नुहोस् न यथास्थितिमा तत्काल ल्याउन कति गाह्रो छ”,मन्त्री यादवले भने, “लाखाैं नेपालीलाई एकैपटक ल्याउँदा क्वारेन्टाइनको तयारी, सबैको को;रोना परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामग्री सबैको व्यवस्था सरकारले एकैपटक कसरी गर्ने? यसबारेमा हामी छलफल गर्दैछौँ।”

सरकारले जुन देशमा राम्रो अवस्था छ,उनीहरुलाई सकेसम्म अहिले सोही देशमा राख्ने र अन्यका लागि मापदण्ड बनाएर ल्याउनेबारेमा छलफल भइरहेको मन्त्री यादव बताउँछन्। उनले भने, “विदेशबाट फर्कन चाहने नेपालीका लागि निश्चित मापदण्ड बनाउने तयारी मा छौँ, राम्रो हुनेहरुलाई अहिले उतै राख्ने र बेरोजगार, अलपत्र परेका कोरोनाबाहेक अन्य रोगका बिरामी, समस्यामा परेकालाई ल्याएर कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको छ।” रासस

प्रतिक्रिया दिनुहोस्