चित्लाङमा मरुभूमिमा हुइँकिने बाइक

काठमाडौैं : साहसिक गतिविधिमा रमाउन र चारपांग्रे बाइकलाई दौडाएर मजा लिन मरुभूमिमा बस्नेको शोख हुने गर्छ। मरुभूमिमा जति हुइँक्याउन सकियो उति नै साहसिक अनुभूति हुने चारपांग्रे मोटर साइकल नेपालमा पनि आइपुगेको छ। खासगरी जति खाल्डाखुल्डी र अप्ठ्यारो बाटो हुन्छ उति नै दौडाउन मजा आउने क्वाड बाइक चित्लाङमा सञ्चालन भइरहेको छ।

काठमाडौंबाट चन्द्रागिरि हुँदै जम्मा १९ किलोमिटर दूरी पार गरेरै पुग्ने गन्तव्य हो चित्लाङ । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गरेको चित्लाङ बाख्राका चिज पाइने स्थानको रूपमा परिचित छ । अब भने यहाँ एक नयाँ साहसिक प्रडक्ट पनि थपिएको छ। पछिल्लो समय चन्द्रागिरिबाट केबलकारमा जाने र दुई घण्टाकै यात्रामा पुगिने छोटो पर्यटकीय गन्तव्यको रूपमा रहेको चित्लाङ यहाँ भएका विशेषतासँग रमाउन पनि उपयुक्त गन्तव्य छ।

चित्लाङलाई बाख्राको चिज, ग्रामीण पर्यटनको अनुभव, होमस्टेको उचित बसाई र मार्खुमा रहेको इन्द्रसरोबरमा गर्न सकिने जल यात्रासँग जोडेर हेरिने गरिन्छ। अब यसको नयाँ परिचय थपिएको छ । मरुभूमिमा कुद्ने क्वाड बाइक हुइँक्याउन पाइने गन्तव्यका रूपमा यसलाई लिन थालिसकिएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा चित्लाङले साहसिक पर्यटन प्रवद्र्धन गर्न र युवा पुस्तालाई आकर्षित गर्न क्वाड बाइक चलाउने सुविधा थपिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।

के हो क्वाड बाइक ? क्वाड बाइकमा चारवटा पांग्रा भएकाले सजिलै कुदाउन सकिने र लड्ने सम्भावना न्युन भएको एक प्रकारको मोटरसासाइकल हो। यसलाई एटीभी (अल टेरेन भ्याइकल) का नामले पनि चिन्ने गरिन्छ। यसको इन्जिन दुई सय सीसीको छ। तर, यसले एक पटकमा १६० केजीसम्मको क्षमता भएको हँुँदा यो बाइकमा एक पटकमा एक जना मात्रै बसेर हुइँकिनु पर्छ।

देख्दा ट्याक्ट्ररजस्तो देखिने र स्कुटरझै हुइँक्याउन सकिन्छ । यसमा अगाडि, पछाडि र न्युटल राख्ने गरी गियरसमेत छ । मोटरसाइकल वा स्कुटर चलाउन सक्नेले भने तुरुन्तै यसलाई हुइँक्याउन सक्छन्। यी दुवै साधन चलाउन नसक्नेले पनि १०/१५ मिनेटमै सहजै सक्ने दाबी यसलाई नेपाल भिœयाउने संस्था ‘द एड्भेन्चर गियर प्रालि’का अपरेसन इन्चार्ज माधव खतिवडाले बताए।

चीनबाट ल्याएको यो बाइक एक महिना अगाडि मात्रै चित्लाङ आइपुगेको हो। नेपालमा पहिलो पटक भित्रिएको र साहसिक राइडिङको मज्जा लिने युवाका लागि यो बाइक निकै आकर्षण रहेको द एड्भेन्चर गियरका प्रबन्ध निर्देशक बलराम महर्जनले बताए । पाँच जना युवाको लगानीमा भित्रिएको यो साहसिक राइडिङको बाइक चित्लाङको ब्रान्ड बनाउने र क्वाड बाइक कुँदाउन चित्लाङ जानुपर्छ भन्ने सन्देश दिन खोजिएको हो।

यो बाइकले चित्लाङ रिसोर्टसँग सहकार्य गरेर ग्राहकलाई प्याकेजसहित सञ्चालन गरेको महर्जनले बताए। मुगेन्द्र गौतम, अशोक ढकाल, गुणराज गौतम, महर्जन र सुदर्शन गौतमको संयुक्त लगानीमा पाँच वटा बाइकबाट सेवा सुरु भएको हो । छिट्टै अर्को पाँच वटा पनि थप गर्ने गरी कार्ययोजना तयार भइरहेको महर्जनले बताए। उनका अनुसार एउटा बाइक ल्याउँदा करिब १२ लाख रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस्