काठमाडौं महानगरको अपिल- ‘७ दिनसम्म घरबाट फोहोर बाहिर ननिकालौँ’

काठमाडौं। ७ दिनसम्म घर,पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरपालिकाले अपिल गरेको छ।आज काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो ।

फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्नुपर्छ । बैठकका अध्यक्ष (महानगरका) प्रमुख शाहले, आपसी समन्वय र सहयोगबाट फोहोरको दीर्घकालीन समाधान निकाल्न सकिनेमा विश्वाश व्यक्त गरे।उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्ड अन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।

समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएको हो । उक्त अवधिभर फोहोर बाहिर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भयो । बैठकमा समितिका सदस्य एवं उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली सहभागी थिए ।

बैठकपछि महानगर बासीका नाममा अपिल जारी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्य सचिव लोकनाथ पौड्यालले, घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्