गायनमा चम्केकी प्रचण्डकी नातिनी स्मिता डिस्टिङ्सन सहित मास्टर्स पास

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी चर्चित गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पुरा गरेकी छन्। लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स गरेकी हुन् । स्मिता संगीतबाट छोटो विश्राम लिँदै उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन् । त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन् ।

नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिता लन्डनमा भने पढाइमै केन्द्रीत भइन् । स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी कान्छी छोरी हुन् । उनी बाल्यकालबाटै संगीतमा सक्रिय छिन् । ११ वर्षको उमेरमा स्मिताले राष्ट्रिय सभागृहमा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन् । स्मिताले गाएको ‘मायालु तिमी कता छौ’ बोलको गीत सर्वाधिक चर्चित छ ।

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन् । डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले बताएकी छन् । स्मिता मास्टर्सको अध्ययन सकेर केही समयअघि स्वदेश फर्किएकी थिइन् । अहिले कन्भोकेसनका लागि कलेजले बोलाएपछि फेरि लन्डन पुगेकी छन् । सम्भवतः अब उनलाई संगीत क्षेत्रमै सक्रिय देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्