‘प्रेमगीत ३’ले ‘कबड्डी ४’को रेकर्ड ब्रेक गर्ने प्रदीपको दाबी

काठमाडौं : अभिनेता प्रदीप खड्का अभिनीत दुई आशातित फिल्म ‘प्रकाश’ र ‘प्रेमगीत ३’ यसै वर्ष महिना दिनको अन्तरमा प्रदर्शन हुँदैछन् । भदौ १० गतेबाट ‘प्रकाश’ र असोज ७ गतेबाट ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छन् । यी दुई फिल्मको विषयवस्तु मात्र फरक छैन, प्रदीपको चरित्र पनि अलग-अलग छ । ‘प्रकाश’मा गाउँले युवक बनेका उनी ‘प्रेमगीत ३’मा भने रोमान्टिक अवतारमा देखिनेछन् ।

यतिबेला ‘प्रकाश’को प्रचारमा दौडिरहेका प्रदीपले यो फिल्म आफ्ना अघिल्ला ७ वटा फिल्म भन्दा कमाईमा अगाडि हुने बताएका छन् । त्यस्तै, उनले ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले तोड्ने पनि दाबी गरे । उनले भनेका छन्, ‘मेरो विचारमा मैले यस अघि गरेका ७ फिल्ममध्ये ग्रसमा ‘प्रकाश’ले हाइएस्ट गर्छ । इन्डस्ट्रीको कुरा गर्ने हो भने ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले ब्रेक गर्छ ।’

‘प्रेमगीत ३’मा राजा र ‘प्रकाश’मा रैती बनेकाले दुइवटै क्यारेक्टर दर्शकले स्वीकार गरे आफ्नो लागि त्यही नै सफलता हुने उनको भनाई छ । ‘एउटा कलाकार एक महिनाको अन्तरमा राजा र रैती भएर देखिँदैछ र त्यसलाई दर्शकबाट स्वीकार हुने हो भने मेरो लागि त्योभन्दा खुशीको क्षण अरु के होला र ! तर, म मात्र खुशी भएर पनि हुँदैन, दर्शक र मेकर पनि खुसी हुनुपर्छ,’ उनले भने ।

लुक्सका कारण आफू दर्शकको मनमा लामो समयसम्म बस्न नसक्ने पनि उनी बताउँछन् । आवरणमा मन पराएको कुरा क्षणिक मात्र हुने उनको भनाई छ । ‘कुनै पनि व्यक्तिको विचार महत्त्वपूर्ण हो,’ उनले अगाडि भने, ‘मेरो लुक्सले म दर्शकको मनमा लामो समयसम्म बस्न सक्छु भन्ने नै लाग्दैन । त्यसैले मेरो र समाजको विचार देखिने चिजहरु भनेको क्यारेक्टरमा आधारित फिल्म हुन् ।’

प्रतिक्रिया दिनुहोस्