नेपालले पहिलोपटक भारतलाई बेच्यो फलामे छड

काठमाडौं : नेपालबाट पहिलोपटक भारतीय बजारमा नेपाली छड निर्यात भएको छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उद्याेगले टिएमटी छडको भारत निर्यात सुरु गरेको उद्याेगका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालले बताए । उद्योगले बुधबार ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो । ‘यो सुरुवात मात्र हो, आगामी दिनमा हामीले निर्यातको मात्रा बढाउँदै लैजानेछौँ,’ उद्योगका सञ्चालक राजेश अग्रवालले भने ।

नेपालमा रहेका सबै उद्योगको वार्षिक रूपमा ३० देखि ३२ लाख मेट्रिक टन उत्पादन गर्ने क्षमता भए पनि हाल वार्षिक १३ देखि १४ लाख मेट्रिकटन मात्र छड खपत हुने उनले बताए । नेपालले वार्षिक १५ लाख मेट्रिक टनभन्दा बढी छड निर्यात गर्न सक्ने उनले बताए । हाल ८० रुपैयाँ प्रतिकेजीकाे अवस्थामा वार्षिक एक खर्ब २० अर्बबराबरको छड निर्यात गर्न सक्ने उद्याेग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी राजेशले बताए ।

‘कुनै उद्योगले लगानी थप नगरी अहिलेकै अवस्थामा एक खर्ब २० अर्बबराबरको छड निर्यात गर्न सक्ने क्षमता छ, उनले भने। लोडसेडिङ, कोरोना महामारीलगायतका तमाम समस्याहरूबाट गुज्रिएर पनि भारत निर्यात गर्ने विषय समग्र राष्ट्रका लागि गौरवको विषय भएको उनले बताए । उनले कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिए । अग्रवालका अनुसार उद्योगकोे प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्