मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै

काठमाण्डाै – आज हिजो र अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पानी पर्ने प्रणाली फेरि दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो।

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो । तर, अहिले मनसुनको न्यून चापीय रेखा फेरि दक्षिणतर्फ सर्ने क्रममा रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।केही दिनअघि मनसुनको न्यून चापीय रेखा दक्षिणमा हुँदा नेपालभर गर्मी बढेको थियो । पानी पर्न नसक्दा प्राय सबै ठाउँको अधिकतम तापक्रम बढेको थियो । अहिलेलाई यस्तै अवस्था हुने सम्भावना भने नरहेको तर पानी नपर्दा गर्मी भने केही बढ्ने मौसमविद्ले बताएका छन् ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारि गर्दै मौसम बिभागले भनेको छ : देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्